काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् ।
आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् ।स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन हो । नयाँ पत्रिका, नागरिक र कारोबार दैनिक भने यो सामूहिक विरोधमा सामेल छैनन् ।
सिरोहिया पक्राउ पछि मिडिया सञ्चालकहरुको संस्था नेपाल मिडिया सोसाइटी र मिडिया अलाइन्सले सामूहिक बिरोध जनाउने निर्णय गरेको थियो । सोही आधारमा आजका मुख्य दैनिक पत्रिकाहरुले कालो पोतेर विरोध जनाएका हुन् ।
दोहोरो नागरिकता प्रयोग गरेको आरोपमा प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर लगेको छ । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा कान्तिपुरले निरन्तर समाचार प्रकाशन गरेपछि त्यसकै प्रतिशोधमा सरकारले कान्तिपुरमाथि आक्रमण गरेको मिडिया सञ्चालकहरुको भनाइ छ ।
Comments are closed.