चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौँ, २५ वैशाख । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेला आजदेखि सुरु भएको छ ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेलाको सम्पूर्ण तयारी सोमबार नै पुरा भएको बताउँदै आजदेखि सुरु भएको बताए । उनले मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरी काम गरिएको जानकारी दिए ।

मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने र भोलि औँसीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ । त्यसैले अघिल्लो दिनदेखि सो क्षेत्रमा मेला लाग्ने गर्छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वको मातातीर्थ कुण्डमा पछिल्लोपटक श्राद्ध गर्नेको सङ्ख्या बढ्दै गएको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताए । उनका अनुसार उक्त कुण्डमा प्रत्येक दिन आठदेखि १० जना श्राद्ध गर्नका लागि आउँछन् ।

दिवंगगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आउनेले गर्दा ठूलो मेला लाग्ने गरेको हो । उनीहरूले मातातीर्थ कुण्डमा स्नान र पूजा गर्ने गर्छन् । मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवंगगत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।

 

Comments are closed.