मण्डलामा ‘तीन ट्रान्जिट मञ्चन

 

काठमाडौ, २२, चैत्र — थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘तीन ट्रान्जिट’ मञ्चन भएको छ । राजनैतिक दलका नेता, युवा तथा कलाप्रेमीको सहभागितामा सोमबार नाटकको विशेष मञ्चन गरिएको थियो । मण्डला समूहकै संयुक्त प्रयासमा तयार गरिएको नाटकको निर्देशन रंगकर्मी सोमनाथ खनालले गरेका छन् ।

यूएनडीपीको सहकार्यमा बनेको नाटकमा आगामी राजनैतिक नेतृत्वमा युवाको भूमिका कस्तो हुनुपर्छ भन्ने विचारलाई केन्द्रित गरिएको छ । नेपालको राजनैतिक इतिहासमा युवाको भूमिका अग्रणी रुपमा रहे पनि वैचारिक नीति निर्माण र निर्णयको तहमा उनीहरुको पहुँच किन पुगिरहेको छैन, युवा जमात भोट मात्र हुन् वा विचारका लागि हुन्, आगामी राजनैतिक अवस्था र प्रणालीमा अब युवामा कस्ता खालका सिर्जनात्मक उपस्थिति हुनुपर्छ भन्ने विषयको उठान नाटकले गरेको छ ।

 

नाटकमा हालको राजनीतिप्रति युवाहरुको आ–आफ्ना धारणाहरु बुझ्न सकिन्छ । मुलुकको राजनीतिक अवस्थाले देश छोडेका र छोड्न लागेकाहरुको निराशा, अपेक्षा, दुःखेसो, पीडा, देशभित्रै केही गर्न सकिएला कि भन्ने आशा, जागृतिका भावनाहरु नाटकमा मिश्रित भएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलका तीन ट्रान्जिटहरुमा युवाहरुद्वारा अभिव्यक्त भएका विविध भावहरु नाटकका दृश्यहरुमा देखाइएका छन् । निर्देशकका अनुसार विद्यमान समस्याहरुको निराकरण गर्न अबको राजनैतिक परिदृश्यमा युवाको जिम्मेवारी कस्तो हुनुपर्छ भनेर समग्र रूपमा नाटकले जवाफ खोजी गरेको छ ।

मण्डलाका अनुसार यही शुक्रबारदेखि आगामी वैशाख ४ गतेसम्म (सोमबार बाहेक) नाटकको नियमित मञ्चन हुनेछ ।

Comments are closed.