भुक्तानी माग्दै देशभरका दुग्ध किसान आन्दोलित, सडकमै दूध पोखाइयो

किसानका समस्या समाधान गर्न राष्ट्रिय सभा सदस्यले गरे सरकारको ध्यानाकर्षण
काठमाडौं । दूधको बक्यौता माग्दै देशभरका किसानले राजमार्ग केन्द्रित आन्दोलन गरेका छन् । दूधको भुक्तानी माग गर्दै देशैभरका दुग्ध उत्पादक किसानले केही दिनदेखि आन्दोलन गरिरहेका छन् । आज राजमार्ग केन्द्रित रहेर दुग्ध किसान प्रदर्शनमा उत्रिएका हुन् ।
मकवानपुरका किसानले ५० करोड रुपैयाँ भुक्तानी नपाएकाले आन्दोलनमा उत्रिनु परेको बताएका छन् । उनीहरुले मुख्य राजमार्गमा शान्तिपूर्वक पैदलयात्रा गरेर भुक्तानी माग गरेका छन् । यता, भक्तपुरका किसानले जगाती चोकमा भैंसीसहित प्रदर्शन गरेका छन् । दूधको अनुदान कायम गर्नुपर्ने, किसानको बाँकी रकम भुक्तानी पाउनुपर्ने तथा मिल्क होली डे अन्त्य हुनुपर्ने राष्ट्रिय कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठको माग छ ।
बर्दियाका किसानले दूधको भुक्तानी तुरन्त गर, भारतीय आयातित दूध बन्द गरलगायत नौ सूत्रीय माग राख्दै सदरमुकामन गुलरियामा प्रदर्शन गरे । यसैगरी पूर्वी र पश्चिम नवलपरासीका पशुपालन गर्ने किसानले दूधको भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शनसहित राजमार्ग अवरुद्ध गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट, पूर्वी नवलपरासीको कावासोतीमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेर नरााबाजीसहित किसानहरुले प्रदर्शन गरे ।
विरोध स्वरुप किसानले सडकमै दूध खन्याएर सरकारविरुद्ध नाराबाजीसमेत गरे । उता कृषिमन्त्रीको राजीनामा माग्दै आन्दोलन गरिरहेका काभ्रेका दूध उत्पादक किसानले भने बनेपाको चारदोबाटोमा चक्काजाम गरी निःशुल्क दूध वितरण गरेका छन् । अरुतिर किसानहरुले दूध सडकमा पोखेर आन्दोलन गरिरहेका बेला काभ्रेका किसानहरुले भने दबाब आन्दोलनसँगै उत्पादित दूध नि:शुल्क वितरण गरेका हुन् ।
यसैबीच राष्ट्रिय सभाको आज बसेको बैठकमा सदस्यहरुले दुग्ध किसानको पैसा दिन र उनीहरुका समस्या समाधान गर्न पनि सरकारसँग माग गरेका छन् ।

Comments are closed.