अब एमालेलाई जग्गा दिएर घर पनि बनाइदिने हो: मीनबहादुर गुरुङ
सर्वोच्चको फैसला पछि मीनबहादुर गुरुङले भने
काठमाडौं । नेकपा एमालेले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गा दान लिएपछि परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार रिट खारेज गरिदिएको हो।
सर्वोच्चले रिट खारेज गरिदिएसँगै एमालेले दानमा जग्गा लिएको विवाद अन्त्य भएको छ।सर्वोच्चको फैसलासँगै भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले आफूले अब नेकपा एमालेलाई अब जग्गा दान गरेर घरसमेत बनाइदिने बताएका छन्।गुरुङले अब साबिक बमोजिम नै घरजग्गा हस्तान्तरणको प्रक्रिया अघि बढ्ने जानकारी दिए।‘दान गर्न त पाउनु पर्यो नि’, गुरुङले भने, ‘दान गर्ने हो । अब जग्गा पनि दिने हो र घर पनि बनाइदिने हो,’ गुरुङले भने।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले कीर्तिपुरमा रहेको जग्गा नेकपा एमालेलाई भवन बनाउन दान दिएका थिए। दसैंको फूलपातीका दिन गुरुङले दान दिएको घोषणा गरेको जग्गामा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भवन शिलान्यास गरेका थिए।ललिता निवास जग्गा हिनामिनामा विशेष अदालतले दोषी ठहर्याएका र किर्ते मुद्दा खेपिरहेका गुरुङबाट प्रधानमन्त्रीको पार्टीले जग्गा दान लिनु स्वार्थको द्वन्द्व भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेत लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए।
त्यो रिटमा सर्वोच्चले कात्तिक १२ गते गुरुङले दान दिएको जग्गामा भवन निर्माण कार्य अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सोही रिट सर्वोच्चले खारेज गरेसँगै जग्गा दान विवाद अन्त्य भएको छ।