Trending Now

स्वास्थ्य मन्त्रालय र तिलगंगाबीच सम्भौता, नेपालीले सस्तोमा लेन्स पाउने

काठमाडौं –– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदान-प्रदानसम्बन्धी सम्झौता गरेको छ
आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउने उद्देश्यले सम्झौता गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतको उपस्थितिमा आइतबार सम्झौता भएको हो ।
सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ । तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिका लागि अधिक छुटमा उपलब्ध गराउने छ ।सरकारको भन्सार तथा मूल्य अभिवृद्धि कर छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा नर्यात भइरहेको छ । अहिलेको सम्झौताअनुसार तिलगंगाले ती लेन्स नेपाली नागरिकका लागि प्रयोग हुँदा हालको रकममा छुट प्रदान गर्नेछ ।
यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्‍याउनेछ ।तिलगंगाका परियोजना कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमार्फत समन्वय र सहकार्य गने सम्झौतामा छ ।यसैगरी, कार्यक्रम सञ्चालन भइरहेका जिल्लामा आँखा कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्ने सम्भौतामा उल्लेख छ ।
मन्त्रालयले मोतियाबिन्दु शल्यक्रिया पश्चात प्रयोग हुने लेन्स उत्पादनका लागि कच्चा पदार्थ र उपकरण आयातमा भन्सार तथा मूल्य अभिवृद्धि करमा सहुलियतका लागि सिफारिस दिने सम्झौता गरेको छ ।सम्झौताअनुसार मन्त्रालयले तिलगंगाले आँखा कार्यत्रम सञ्चालन गरेका अस्पतालमा प्राविधिक तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धिका लागि सघाउने छ ।सम्झौता आदान-प्रदानपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डा.सन्दुक रुइतको नेतृत्वमा नेपालले आँखा उपचारमा विशिष्टता प्राप्त गरेको भन्दै यो गौरवको विषय भएको बताए ।अन्तर्राष्ट्रिस्तरमा ख्याती प्राप्त डा. रुइत नेतृत्वको कामलाई राज्यका तर्फबाट मूल्यांकन गर्दै थप सहयोग पुर्‍याउनुपर्छ भनेर सम्झौता गरिएको उनले जानकारी दिए ।
‘उहाँले आँखा उपचारमा अन्तर्राष्ट्रियस्तरमा पनि विश्वसनीयता आर्जन गर्नुभएको छ, ‘मन्त्री पौडेलले भने, ‘संसारमै लेन्स उत्पादनमा विख्यात बनेको नाम सन्दुक रुइत र उहाँको कामलाई थप कसरी सघाउन सकिन्छ । आगामी दिनमा पनि हामी सघाउन तयार छौं।’डा. रुइतले स्वास्थ्य मन्त्री पौडेल स्वास्थ्य सेवा सुधारमा सक्रिय रहेको भन्दै हातेमालो गरी अघि बढ्ने प्रतिवद्धता जनाए ।‘स्वास्थ्य मन्त्रीज्यू सुधारका लागि सक्रिय भएर लागिरहनुभएको छ,’ उनले भने, ‘हामी हातेमालो गर्न तयार छौं ।’डा. रुइतले अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धाका लागि सघाउन आफूहरूलाई सघाउन मन्त्री पौडेलसमक्ष आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.