साढे १३ लाखभन्दा बढी ड्राइभिङ लाइसेन्स छाप्न बाँकी

काठमाडौं । करिब ५ महिनादेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को छपाइ कार्य बन्द छ । लामाे समय छपाइ हुन नसक्दा छाप्नुपर्ने लाइसेन्सकाे संख्या बढ्दै गएकाे छ ।

यातायात व्यवस्था विभाग अहिले छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै साढे १३ लाख भन्दा माथि छ । अब नियमित छपाइ थाल्न अझै एक महिना लाग्ने भएकाले छाप्नुपर्ने लाइसेन्स संख्या बढ्नेछ ।

एउटा मात्रै मास प्रिन्टरबाट नियमित छपाइ हुँदा पनि प्रक्रिया पूरा गरेका लाइसेन्स छपाइमा एक वर्षसम्म ढिलाइ हुने गरेकोमा विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्ने कार्ड नै सकिएपछि गत असारको पहिलो सातादेखि नियमित लाइसेन्स छपाइ ठप्प भएकाे हाे ।

दैनिक रूपमा प्रदेश अन्तरगतका लाइसेन्स कार्यालयहरूले परीक्षा लिएर सवारी चालक अनुमतिपत्रको छपाइका लागि प्रक्रिया पूरा गरिरहँदा सरकार भने सीमित संख्याको कार्डको उपलब्धताका कारण वैदेशिक रोजगारी र अध्ययनमा जानेहरूलाई मात्रै कार्ड छापेर दिइरहेको छ । अन्य नियमित प्रक्रियाबाट लाइसेन्स पाउने आशा गरिरहेका थुप्रै सवारी चालकहरू लाइसेन्सविहीन छन् ।

Comments are closed.