‘ह्रस्व दीर्घ’बाट नीता ढुंगानाको पहिलो लुक्स सार्वजनिक

काठमाडौँ – अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको सिनेमा ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ।

सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ। सार्वजनिक पोस्टर हेर्दा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आ–आफ्नो चरित्रमा देख्न सकिन्छ।

असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशकीय नेपाली सिनेमा हो। उनले यसअघि केही भोजपुरी सिनेमाको निर्देशन गरिसकेका छन्। निर्देशक पन्त नेपाली सिनेमा क्षेत्रमा द्वन्द्व निर्देशकको रुपमा स्थापित थिए।

सिनेमामा नेपाली र दक्षिण भारतीय सिनेमाका चर्चित कलाकारहरु नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा, ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ।

हरिहर अधिकारीको कथा लेखन रहेको सिनेमालाई भारतीय छायांकार कवीरलालले खिचेका हुन्। उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड सिनेमा खिचेका छन्।

सिनेमाको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो। सिनेमामा मित्र डि गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडकी सुष्मा सुमनको कोरियोग्राफी रहेको छ।

 

Comments are closed.