काभा नेसन्स लिग भलिबलको पहिलो खेलमा नेपाल पराजित

काठमाण्डौं । काभा पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज (आईतबार) भएको आफ्नो पहिलो खेलमा नेपाल मंगोलिया ३-१ को सेटमा पराजित भएको हो।

पहिलो र दोश्रो क्रमशः २५-१९ र २५-२० ले गुमाएको नेपालले तेश्रो सेट २७-२५ ले जितेको थियो । त्यसपछि चौंथो तथा निर्णायक सेट २५-२० ले गुमाउँदै नेपालले खेल मंगोलियालाई सुम्पिएको हो ।

नेपाली टोली नयाँ कप्तान हरिहजुर थापाको कप्तानीमा कोर्टमा उत्रिएको थियो । अब नेपालले दोश्रो खेल सोमबार आयोजक किर्गिस्तानसँग खेल्ने छ ।

नेपालले तेश्रो खेल मंगलबार इरान, चौंथो खेल बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेल किर्गिस्तानको बी टोलीसँग खेल्ने छ । नेपाली टोली शनिबार किर्गिस्तान पुगिसकेका छन् ।

प्रतियोगिता असार १० गतेसम्म किर्गिस्तानको बिस्केकमा अयोजना हुनेछ। काभा अन्तर्गत माथिल्लो वरीयताका टिमहरुसँग नेपालले नेसन्स लिगमा प्रतिस्पर्धा गर्न लागेको हो ।

नेसन्स लिगमा नेपालसँगै आयोजक किर्गिस्तान, इरान, मंगोलिया, काजकस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन्। प्रतियोगिता राउण्ड रोविन प्रणालीमा हुनेछ।

नेपाली टोलीले यस प्रतियोगितालाई आगामी साउनमा श्रीलंकामा हुने सेन्ट्रल एशियन सिनियर मेन्स भलिबल र असोजमा हुने एशियाली खेलकुदको तयारीका रुपमा लिएको छ।

Comments are closed.