‘नेपाल संवत् न्हूँदँ’ विषयक विद्वत्–गोष्ठी’ कार्यक्रम सम्पन्न

शङ्खधर साख्वाको नाममा आगामी वर्षदेखि तीन जनालाई रु एक/एक लाख राशिको पुरस्कार दिने गरी संस्कृति मन्त्रालयले कार्यविधि निर्माण गरेको छ– संस्कृति मन्त्री जीवनराम श्रेष्ठ

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभागद्वारा नेपाल संवत् न्हूँदँ राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा ‘नेपाल संवत् न्हूँदँ’ विषयक विद्वत्–गोष्ठी’ आयोजना गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ रहेका थिए ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल संवत् समुदाय विशेषको नभइ सबै नेपालीको भएको बताए । उनले भने— “नेपाल संवत्को सुरुवात गर्ने शङ्खधर साख्वाको नाममा आगामी वर्षदेखि तीन जनालाई रु एक/एक लाख राशिको पुरस्कार दिने गरी संस्कृति मन्त्रालयले कार्यविधि निर्माण गरेको छ, यी पुरस्कार अब राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा प्रत्येक वर्ष प्रदान गरिनेछ ।” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भेटिएको भनिएको साख्वासँग सम्बन्धित सामग्रीका बारेमा पनि थप अध्ययन गर्न समिति गठन गरिएको उनले बताए ।

प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले जनताले देशका नाममा प्रवद्र्धधन गरेको नेपाल संवत् राष्ट्रिय गौरवको विषय भएको बताए । नेपाल संवत् र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गर्ने पात्रो (पञ्चाङ्ग) को गणित नमिलेकाले त्यसलाई मिलाउनुपर्नेमा उनले जोड दिए । राजधानी उपत्यकाका तीन सहरको सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै उनले त्यसको संरक्षणमा यहीँको समुदाय लाग्नुपर्ने विचार व्यक्त गरे ।

प्रज्ञा–प्रतिष्ठानका निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रम सार्थक भएको बताए । उनले चार वर्षे कार्यकालमा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट भएका महत्वपूर्ण कामहरूका बारेमा समेत प्रकाश पारेका थिए ।

नेपाल संवत् न्हूँदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यले मौलिक संवत्को रूपमा रहेको नेपाल संवत्को प्रयोग र संरक्षण गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरले कार्तिक शुक्ल प्रतिपदामा नेपाल संवत् मनाएर वर्षभर चुप लागेर बस्ने परम्परालाई तोड्दै यस विषयमा बहस र विमर्श गर्ने गरी कार्यक्रम आयोजना गरिएकामा खुसी व्यक्त गरे । ‘नेपाल संवत् ः सैद्धान्तिक आधार तथा व्यावहारिक पक्ष’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले ऋण तिर्न नसक्ने जनताको ऋण तिरिदिएर साख्वाले नेपाल संवत् चलाएको बताए ।

तत्कालीन राजा राघवदेवले पशुपतिनाथलाई समर्पण गरेर नेपाल संवत् चलाएको विषय विभिन्न वंशावलीमा लेखिएको उनले बताए ।
‘शङ्खधर साख्वा र नेपाल संवत्’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले संस्कृति मरे देश मर्ने र जीवित जनता पनि मृतसरह हुने भएकाले मौलिक संस्कृतिको संरक्षण गरिनुपर्नेमा जोड दिए ।

Comments are closed.