काभा नेसन्स लिगको पहिलो खेलमा नेपालले मंगोलियाको सामना गर्ने

काठमाण्डौं । किर्गिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगको खेल तालिका सार्वजनिक भएको छ ।

सेन्ट्रल एसियन भलिबल संघ (काभा) ले प्रतियोगिताको खेल तालिका सार्वजनकि गरेको हो । काभाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा मंगोलियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपालले आफ्नो पहिलो खेल भोलि (आईतबार) मंगोलियासँग खेल्ने छ । यस्तै नेपालले दोश्रो खेल सोमबार आयोजक किर्गिस्तानसँग खेल्ने छ ।

नेपालले तेश्रो खेल मंगलबार इरान, चौंथो खेल बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेल किर्गिस्तानको बी टोलीसँग खेल्ने छ । नेपाली टोली शनिबार किर्गिस्तान पुगिसकेका छन् ।

प्रतियोगिता असार ३ देखि १० सम्म किर्गिस्तानको बिस्केकमा अयोजना हुँदैछ। काभा अन्तर्गत माथिल्लो वरीयताका टिमहरुसँग नेपालले नेसन्स लिगमा प्रतिस्पर्धा गर्न लागेको हो ।

नेसन्स लिगमा नेपालसँगै आयोजक किर्गिस्तान, इरान, मंगोलिया, काजकस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन्। प्रतियोगिता राउण्ड रोविन प्रणालीमा हुनेछ।

नेपाली टोलीले यस प्रतियोगितालाई आगामी साउनमा श्रीलंकामा हुने सेन्ट्रल एशियन सिनियर मेन्स भलिबल र असोजमा हुने एशियाली खेलकुदको तयारीका रुपमा लिएको छ।

प्रतियोगिता खेल्ने नेपाली टोलीको कप्तानी हरिहजुर थापाले गर्ने छन् । उनले इम रानामगरको स्थानमा कप्तानीको जिम्मेवारी पाएका हुन्।

नेपाली टोलीका प्रशिक्षक जगदीश भट्ट र सहायक प्रशिक्षक भरत यादवको प्रशिक्षणमा नेपालले एक महिना तयारी गरेको थियो।

नेपाली टोली:

हरिहजुर थापा (कप्तान), लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल र भीमबहादुर गाहा ।

Comments are closed.