नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्ने

नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ । निर्धारित तालिकाअनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफूलाई क्यालगरी शहरको ‘दी प्यालेस थिएटर’मा उभ्याउनेछ ।
त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुती भ्यानकुभर शहरको ‘दी भोग थिएटर’मा हुनेछ । यी दुवै शहर क्यानाडाको पश्चिमी भेगमा पर्छन् । यात्राको अन्तिम शो भने मुलुककै पूर्ववर्ती शहर टोरन्टोका दर्शक माझ हुनेछ । अक्टोबर ८ तारिख, आइतबारका दिन ब्याण्ड टोरन्टोस्थित क्यानाडाकै बिख्यात कार्यक्रमस्थल ‘म्यासी हल’मा प्रस्तुत हुनेछ ।
सन् १८९४ मा खुलेको क्यानाडाको म्यासी हल त्यसको सयवर्ष पुग्नैलाग्दा अर्थात् सन् १९८१मा मुलुककै ‘नेशनल हिस्टोरिक साइट’ (राष्ट्रिय ऐतिहासिक स्मारक) मा सूचीकृत भएको थियो । त्यहाँ विश्वविख्यात सांगीतिक समूहहरूले आफूलाई प्रस्तुत गरिसकेको इतिहास छ ।
दुइ महिनाअघि मात्र म्यासी हलले सामाजिक सञ्जालमार्फत् नेपथ्य कन्सर्टको तालिका घोषणा गर्दा क्यानाडामै बसोबास गर्दैआएकी लेखिका मन्जुश्री थापाले सामाजिक संजालमार्फत खुसी प्रकट गरेकी थिइन्, ‘नेपथ्य आउने समाचारले केही शितलता महशुस गराएको छ ।’ उनले अगाडि थपेकी थिइन्, ‘माओवादी द्वन्द्वकालको चरम निराशाका क्षणमा आशाको सञ्चार गरेर लगाइदिएको गुनका निम्ति नेपथ्य सदैव प्रिय छ ।’
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ शहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानाडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ ।
केही समययता नेपालीहरूका निम्ति क्यानाडा आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ । त्यसमा पनि विशेष गरी अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीहरंको संख्या बर्सेनि बढ्दो छ ।
‘केही वर्षअघिसम्म पनि यहाँ नेपाली अनुहार मुस्किलले देखिन्थे,’ टोरन्टोका दिलिप पौडेल भन्छन्, ‘अहिले सार्वजनिक यातायात, कलेज, रेष्टुरेन्ट र बाटाघाटामा पनि नेपाली बोलिरहेका मानिस देखिनु सामान्यजस्तै बन्दैगएको छ ।’

बढ्दो जनसंख्यासँगै यहाँका नेपाली संघसंस्थाहरूले आयोजना गर्ने विभिन्न खाले सांगीतिक कार्यक्रमहरूको संख्या पनि नियमित बन्दै गएको छ ।

Comments are closed.