काठमाडौं । सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । सोमबार राति बुद्ध एयरले काठमाडौं-राजविराज परीक्षण उडान गरेको हो ।
दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान सुरु गरेको हो । परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरू समेत राजविराज पुगेका थिए । रात्रिकालीन उडानका क्रममा राजविराज विमानस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थल रात्रिकालीन उडान सुरु गर्ने १० औं विमानस्थल भएको र राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘९ वटा एयरपोर्टमा यसअघि नै रात्रिकालीन उडान हुन्थ्यो । यो दशौँ एयरपोर्ट बनेको छ । अब राजविराज छायामा पर्नेछैन । यो अहिले देखिएको जुन उज्यालो छ । यो उज्यालोले राजविराजलाई पनि उज्यालो बनाउनेछ । यो एयरपोर्टलाई पनि उज्यालो बनाउनेछ । चलायमान बनाउनेछ । पोखरामा अन्तर्राष्ट्रिय उडान हामीले भनेको जस्तो गर्न सकेका छैनौँ । तर दुई लाख पर्यटक बढेर वर्षमा १० लाख पर्यटक पुगेको छ, पोखरामा । कुनैपनि एयरपोर्टमा स्वाभाविक रुपमा सेवा बिस्तार भयो भने सेवाग्राहीहरू आउँछन् । यसले अर्थतन्त्र लगायत बहुआयामिक प्रभाव रहनेछन् । आन्तरिक एयरपोर्टहरूमा सोझै यात्रा हुने खालका प्रबन्धका लागि हामी लागिरहेका छौँ ।’
कार्यक्रममा बोल्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले देशमा विपत्ति आएका बेला सडक सञ्जालको समस्या हुँदा प्राधिकरणको महत्त्व अझ बढ्ने बताए । ‘देशमा बाढी पहिरोको विपत्ति आइपरेको बेलामा नागरिक उड्डयन प्राधिकरणले आफ्ना विमानस्थलहरूमार्फत दिएको हवाई सेवाको महत्त्व अझ पनि बढ्ने देखिन्छ,’ उनले भने, ‘राजविराज विमानस्थलले एउटा सम्भावनाको ढोका खोलेको छ । रात्रिकालीन उडान तथा अवतरण गर्ने सुविधा थप भएको छ । अब रात पर्यो उडान हुँदैन की भन्ने अवस्था आउनेछैन ।’
कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राजविराजमा रात्रिकालीन उडान सुरु हुनु सप्तरीवासीको लागि गौरवको क्षण भएको बताउनु भयो । रात्रिकालीन उडानलाई सफल बनाउन सबैले संघर्ष गर्नुपर्ने बताए । उनले भने, ‘यो हाम्रो सप्तरीको लागि निकै नै गौरवको क्षण हो । यो दिनलाई सफल बनाउनका लागि संघर्ष गर्नुहुने सम्पूर्ण नेताहरू, अग्रजहरू, क्यानका पदाधिकारी सबैलाई धन्यवाद दिन चाहन्छु । हाम्रो सपना आज साकार हुँदैछ । यहाँबाट अझ बढी फ्लाइट कसरी सञ्चालन गर्ने भन्नेकुरामा हामी सप्तरीवासी र छिमेकी जिल्लाका स्थानीयहरूले सोच्नुपर्छ ।’