पार्टी एकतामा जोड दिन एमाले नेता, कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकतामा जोड दिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमवार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै उनले पार्टीलाई सफल र सबल बनाउन पार्टीका नेता, कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न सचेत गराएका हुन् ।

अध्यक्ष ओलीले कम्युनिष्ट आचरण र अभ्यास बिना पार्टीलाई एकताबद्ध बनाउन नसकिने भएकाले त्यस कुराको ख्याल गर्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गरे । घमण्डले पतनको बाटोमा लैजाने उल्लेख गर्दै उनले सो बाटोमा जान नहुनेतर्फ पनि नेता, कार्यकर्ताहरूको ध्यानाकर्षण गराए ।

अध्यक्ष ओलीले एमालेले समृद्ध नेपालस् सुखी नेपालीको राष्ट्रिय सङ्कल्प लिएकाले त्यसलाई पूरा गर्न सिङ्गो पार्टी परिचालित हुनुपर्ने बताए ।

उनले भने ‘पार्टीमा तीन वटा कुराको आवश्यकता छ । एउटा, एकता । दोस्रो पनि एकतानै हो । र, तेस्रो पनि एकता । अथवा तीन वटा कुरा चाहिन्छ हामी सफल हुन र सबल हुन् । त्यो हो–एकता, एकता अनि एकता । त्यसकारण हाम्रो कमरेडहरूलाई म सुझाव दिन चाहन्छु–एकतामा जोड दिनुस् । एकतामा जोड दिन, कम्युनिष्ट आचरण र अभ्यास विना एकतामा जोड दिन सकिँदैन । कम्युनिष्ट भित्र पहिलो कुरा घमन्ड हुनै हुँदैन । मान्छेको दिमागमा घमन्ड पस्यो भने घमन्ड यसरी दिमागमा बस्छ, त्यसले अरू केही चिज दिमागमा पस्नै दिँदैन । ज्ञान पस्न दिँदैन, शालीनता पस्न दिँदैन । विनम्रता पस्न दिँदैन । सामाजिकता पस्न दिँदैन । मानवीयता पस्न दिँदैन । केही पनि पस्न नदिएर घमण्डले दिमाग भरिन्छ । र, अनि मान्छेको पतन त्यसरी सुरु हुन्छ । अहङ्कार, त्यसले मान्छेलाई पतन गराउँछ । किनभने अहङ्कारले मित्र बनाउन दिँदैन । एकता बनाउन दिँदैन । सबैको प्रिय बन्न दिँदैन । प्रिय भनेको विरोधीको पनि प्रिय भनेको होइन । त्यो त सङ्घर्ष नगर्नेहरू जसका पनि प्रिय हुन्छन् । सङ्घर्ष गर्नेहरू, एउटा उद्देश्य बोकेकोहरु, त्यो उद्देश्य बोकेकाहरूको निम्ति प्रिय हुन्छन् । जनताका प्रिय हुन्छन् । जनताको प्रिय हुनु र सबैको प्रिय हुनु फरक कुरा हो । मैले पहिले पहिले पनि भनेको छु–तपाई हरेकलाई खुसी पार्न सक्नु हुन्न । र, विरोधी उद्देश्य बोकेका, विपरीत उद्देश्य बोकेकाहरूलाई खुुशी पार्न सक्नुहुन्न । तर विरोधी विचार र उद्देश्य बोकेकाहरूलाई पनि हामी स्वीकार गर्छौँ । र, स्थान दिन्छौँ । उनीहरूको विरुद्ध निषेधको राजनीति हामी गर्दैनौँ । हामी विपक्षसँग पनि सहअस्तित्व स्विकार्छौँ । र, प्रतिस्पर्धा स्वीकार्र्छौं । बुर्जुवाहरूले प्रजातन्त्र भनेपनि फरक विचारलाई स्वीकार गर्न सक्दैनन् ।’

अध्यक्ष ओलीले एमालेले विपक्षमाथि निषेध र दमनको राजनीति नगरेको दाबी समेत गरे ।

Comments are closed.