काठमाडाैं । नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक खटाउने भएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेकाे सचिवालय बैठकले जाजकाेट, रुकुमपश्चिम लगायत भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास बनाउन मंसिर १ गतेदेखि स्वयंसेवक खटाउने निर्णय गरेकाे हाे ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर १ गतेबाट भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक खटाउने निर्णय भएकाे जानकारी दिनुभयाे ।
०७२ सालको भुकम्पपछि ५० हजार स्वयंसेवक परिचालन गरेर तीन महिनाको बीचमा २७ हजार घरटहर बनाएर हस्तान्तरण गरेको स्मरण गर्दै उहाँले साेही लेभलमा अहिले पनि काम हुने बताउनुभयाे । ‘भूकम्पमा घरबार गुमाएकाहरुको अस्थायी आवास निर्माणका लागि हामीले मंसिर १ गतेदेखि एक हजार स्वयंसेवकहरू भूकम्प प्रभावित क्षेत्रमा खटिनुहुनेछ, ५ हजार कार्यदिन भन्दा पनि त्यहाँ खट्नेछाैं, एक करोड रुपैयाँ बढीको श्रम गर्नेछाैं, हजारौं टहराहरु बनाएर नागरिकहरुलाई अस्थायी तर न्यानो घरमा बसाएर फर्कन्छौं, याे कामको संयोजन पार्टीको प्रदेश कमिटीले गर्नेछ’- उपमहासचिव ज्ञवालीले भन्नुभयाे ।
संकलन भएकाे राहत तत्काल वितरण गर्न, राहत वितरण कार्य पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन सरकारकाे ध्यानाकर्षण गराउने निर्णय भएकाे पनि उहाँले बताउनुभयाे ।
Comments are closed.