वीर अस्पतालमा साउन १ गतेबाट बिहान ८ बजेदेखि ४ बजे सम्म ओपिडी हुने

काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले वीर अस्पतालको ओपीडी बिहान ८ बजेदेखि सुरु हुने भएको छ।

न्याम्स कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले साउन १ गतेबाट लागु हुने गरी अस्पतालको सेवा बिहान ८ बजेदेखि ४ बजे सम्म संचालन गर्ने निर्णय गरेको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपती डा भुपेन्द्र बस्नेतका अनुसार कार्यकारी परिषदको यो निर्णयसँगै वीर अस्पतालमा साउन १ गतेदेखि ओपिडी सँगै अस्पतालको कार्यालय समय पनि बिहान ८ बजेदेखि नै सुरु हुने भएको हो। हाल अस्पतालमा बिहान ९ देखि ५ बजेसम्म कार्यालय तथा ओपीडी सेवा हुँदै आइरहेको छ।

अस्पतालमा ९ बजेदेखि सेवा हुँदा चिकित्सक लगायतका कर्मचारीहरु आउने क्रममा बढी सवारी जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको उपकुलपति डा बस्नेतले जानकारी दिए।

ओपिडीका लागि अस्पतालमा ७ बजेदेखि नै बिरामी आउने भएकाले अस्पतालको भिड कम गर्ने उदेश्यले बिरामीहरुको सुबिधाका लागि ८ बजेबाट नै सेवा सुरु गर्न लागेको डा बस्नेतले बताए।

अस्पतालमा दैनिक २ हजार ५ सय देखी ३ हजार बिरामीले ओपिडी सेवा लिने गरेका छन्।

Comments are closed.