प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा नवनिर्मित भौतिक संरचना उद्‍घाटन

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा नवनिर्मित भौतिक संरचना उद्‍घाटन

चितवन, ९ असोज

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा नवनिर्मित महिला छात्राबास तथा भान्साघर र सोधपुछ कक्षको आइतबार आयोजित एक समारोहबीच उदघाटन गर्नुभयो । उद्‌घाटन पश्चात उहाँले नवनिर्मित भौतिक संरचनाहरूको निरीक्षण समेत गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने विद्यालयका पूर्व समादेशक प्रहरी निरीक्षक धर्म बहादुर अधिकारी, अक्षयकोष स्थापना गर्ने पूर्व प्रहरी नायव उपरीक्षक कमल भण्डारी, शिक्षक अनिता देवकोटा लगायत  प्रहरी सहायक निरीक्षक दिनेश थापा, प्रहरी हवल्दार अमिन बस्नेत, प्रहरी सहायक हवल्दार प्रकाश घिमिरे समेतलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले हाल कक्षा ८ सम्म मात्र अध्यापन भइरहेको यस विद्यालयलाई समयानुकुल स्तर वृद्धि गर्ने सन्दर्भमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आजको प्रतिस्पर्धात्मक विश्व जगतमा गुणस्तरीय र प्रविधिजन्य शिक्षा अत्यन्त आवश्यक रहेको हुँदा वैज्ञानिक र व्यवहारिक शिक्षा प्रणालीलाई जोड दिनुपर्नेमा उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले विद्यार्थीहरुमा असल व्यक्तित्व र सकारात्मक मानसिकताको विकास गरी राष्ट्र निर्माणमा उनीहरुको भूमिका र समाजप्रतिको दायित्वबोध गराई शिक्षित, सभ्य र क्षमतावान नागरिकमा रुपान्तरण गर्नेतर्फ विद्यालय सदैव गम्‍भीर हुनुपर्नेमा जोड दिनुभयो ।  निर्माण सम्पन्न भएका भौतिक संरचनाले विद्यालयको शिक्षण प्रणाली लगायत अध्ययन र अध्यापन कार्यलाई थप सहज र प्रभावकारी बनाई शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो ।

विद्यालयका संरक्षक एवं बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्‍चोकका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लालमणी आचार्यले प्रहरी महानिरीक्षक सिंहलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।

विद्यालयका प्राचार्य प्रधुन्न पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडानम्बर १४ का वडाअध्यक्षले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रहरी उपरीक्षक ई. ईश्वर थापाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेट ३ करोड ६८ लाख ३१ हजार ८ सय ५९ रुपयाँ ८८ पैसाको लागतमा महिला छात्रावास तथा भान्साघर र २१ लाख ५७ हजार २ सय ६८ रुपैयाँ ७१ पैसाको लागतमा सोधपुछ कक्षको निर्माण कार्य सम्पन्न भएको हो।

विद्यालयका विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, विद्यार्थी, अभिभावकहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

Comments are closed.