कुसुन्तीमा एमजीको सर्भिस सेन्टर उद्घाटन

काठमाडौँ / अटोमोटिभ ब्रान्ड एमजीको लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक प्यारामाउन्ट मोटर्सले ललितपुरको कुसुन्तीमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ।

नेपाली ग्राहकहरूको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न यस सर्भिस सेन्टरको स्थापना गरिएको कम्पनीले जनाएको छ।

सर्भिस सेन्टरले एमजीका नेपाली ग्राहकहरूलाई सर्वोत्कृष्ट आफ्टर सेल्स सेवा प्रदान गर्दै उच्चतम अनुभव सुनिश्चित गर्ने लक्ष्य राखेको बताइएको छ। ३२ हजार ८५६ वर्ग फिट (६ रोपनी) क्षेत्रमा फैलिएको यस सर्भिस सेन्टरमा विभिन्न सुविधाहरू रहेका छन्।

यस सर्भिस सेन्टरमा थुप्रै सर्भिस एरियाहरू, फराकिला वेटिंग लाउन्ज, कस्टमर सर्भिस डेस्क, सुसज्जित मेन्टेनेन्स र रिपेयर सेक्सनहरू, पर्याप्त स्टोरेज स्थानहरू, प्रशासनिक अफिसहरू र अन्य विभिन्न सुविधाहरू उपलब्ध छन्।

यस सर्भिस सेन्टरले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिहरूमा प्रशिक्षित उच्च दक्ष प्राविधिकहरूको टोली रहेका छन्।

एमजीका गाडीहरूलाई उच्च स्तरीय मर्मत तथा वारेन्टी आवश्यकताहरू प्रदान गर्न र ग्राहकहरूलाई सहज तथा प्रभावकारी आफ्टर सेल्स सेवा प्रदान गर्न यस सर्भिस सेन्टरको डिजाइन गरिएको कम्पनीले जनाएको छ।

नयाँ सर्भिस सेन्टरको उद्घाटनको बारेमा बोल्दै प्यारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले भने, ‘हाम्रा ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने निरन्तर प्रतिबद्धता अन्तर्गत कुसुन्तीमा यस अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन गर्न पाउँदा हामी हर्षित छौँ। यस सर्भिस सेन्टरले ग्राहकलाई विश्व–स्तरीय अनुभव प्रदान गर्दै सावधानीपूर्वक र विशेषज्ञताका साथ एमजी गाडीहरू सर्भिस गरिनेमा हामी विश्वस्त छौं।’

‘हाम्रो सर्भिस सेन्टरमा ११ बे, हाइ इभि दाइग्नोसिस टुल, एक पटकमा ३ कार वासको सुविधा, हाइब्रिड एसी रिकभरी, उच्चतम प्रविधियुक्त पेन्ट बुथ, क्यारोलिनर कोलिजन रिपेर, फ्लुकद्वारा निर्मित आइसोलेटेड टेस्टिंग टुलहरू लगायत एउटा डिसी चार्जर र एउटा एसी चार्जर रहेको छ,’ उनले थपे।

नयाँ सर्भिस सेन्टरको उद्घाटनसँगै एमजीले नेपालमा आफ्नो उपस्थितिलाई अझ सुदृढ गरेको कम्पनीको भनाइ छ। साथै आफ्ना ग्राहकहरूसँग बलियो सम्बन्ध कायम गर्ने र एमजीका नयाँ ग्राहकहरूलाई ब्रान्डमा स्वागत गर्दै लैजाने लक्ष्य राखेको कम्पनीले बताएको छ।

Comments are closed.