Trending Now

समस्याग्रस्त २० सहकारीका कागजात माग्ने संसदीय छानबिन समितिको निर्णय

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको साताैं बैठकले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग्ने निर्णय गरेकाे हाे । समितिकाे कार्यादेशको अनुसूची-१ मा समावेश २० वटा सहकारीसँग सम्बन्धित कागजातहरू उपलब्ध गराउन सम्बन्धित निकायहरूमा पत्राचार गर्ने भएकाे समिति संयाेजक सूर्य थापाले जानकारी दिनुभयाे ।

समितिले यसअघि विवादित रहेको भनिएका ९ वटा सहकारीको कागजात माग्ने निर्णय गरेकाे थियाे । अरु धेरै विवरण, जानकारी र तथ्यहरु आवश्यक पर्ने देखिएपछि २० वटा सहकारीकाे पनि कागजात माग्ने निर्णय गरिएकाे संयाेजक थापाले बताउनुभयाे ।

समितिले आजकाे बैठकमा ०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, ०६१-६२ मा सहकारी अधययनका लागि गठित कार्यदलका संयोजक डा. युवराज खतिवडा र ०७० सालमा समस्याग्रस्त सहकारीहरुको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीसँग छलफल गरी सुझाव मागेकाे थियाे ।  तिनैजनाले सहकारीसम्बन्धी आ-आफ्नो समयका अध्ययनका महत्त्वपूर्ण निष्कर्षहरू राख्नुभएकाे थियाे । उहाँलहरुले हालको संकट र सहकारी क्षेत्रको समस्या समाधान गर्नेबारे महत्वपूर्ण सुझाव समेत दिनुभएकाे संयाेजक थापाले जानकारी दिनुभयाे ।

Leave A Reply

Your email address will not be published.