दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

काठमाडौं । दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण कार्य अन्तिम चरणमा पुगेको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म ३ हजार ९ सय ३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ ।

दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत बैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेशनाथ त्रिपाठीका अनुसार यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

यो आयोजनामा चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियो । ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने उहाँले बताउनुभयो ।

चीन सरकारको २ अर्ब ५० करोड अनुदानमा सो परियोजना कार्यान्वयनमा छ । परियोजनाअन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छ । विभाग, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी परियोजना कार्यान्वयनको काममा जुटेका छन् ।

Leave A Reply

Your email address will not be published.