परराष्ट्रमन्त्री श्रेष्ठ र रूसका विदेशमन्त्रीबीच फोनवार्ता, रूसी सेनामा भर्ती भएकालाई नेपालीलाई फिर्ता पठाउन आग्रह
काठमाडाैं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र रुसी विदेशमन्त्री सेरगेई लाभरोभबीच फाेनवार्ता भएकाे छ ।
परराष्ट्रमन्त्री श्रेष्ठ र रुसी विदेशमन्त्रीबीच बिहीबार फाेनवार्ता भएकाे हाे । त्यसक्रममा उहाँहरुबीच रूसी सेनामा रहेका नेपाली नागरिक र नेपाल-रुस सम्बन्धका विविध पक्षमा छलफल भएकाे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
फाेनवार्तामा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रूसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गर्न रूसी विदेशमन्त्रीसँग आग्रह गर्नुभएकाे थियाे ।
जवाफमा रूसी विदेशमन्त्रीले रूसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न सहयाेग गर्ने आश्वासन दिनुभएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
रूसी विदेशमन्त्रीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई पदभार ग्रहण गरेकोमा बधाई तथा शुभकामना पनि दिनुभएकाे थियाे । रूस नेपालसँग व्यापार, पर्यटन, संस्कृति लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको पनि लाभराेभले बताउनुभएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Comments are closed.