नेपाल प्रज्ञा–प्रतिष्ठानको ३७ औँ प्राज्ञ सभा सम्पन्न

विभिन्न प्रज्ञा पुरस्कार घोषणा तथा ३० करोड २० लाख ४२ हजारको बजेट पारित
२०७९ साउन ३० गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३७ औँ प्राज्ञ सभा सम्मानीय प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले समुद्घाटन गर्नुभयो । प्रज्ञा भवनको प्रज्ञा सम प्रेक्षालयमा आयोजित समारोहमा ३७ औँ प्राज्ञ सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालका भाषा, साहित्य, कला र संस्कृति मुलुकको विशिष्ट गहना भएको बताउनुभएको छ । उहाँले विश्वमा नेपाललाई परिचित गराउन भाषा, साहित्य, कला र संस्कृतिको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्नुहुँदै यसको विकासमा सबैको प्रयास हुनुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाली भाषा, साहित्य, संस्कृतिको अध्ययन–अनुसन्धान र प्रवद्र्धनमा प्रज्ञा–प्रतिष्ठानले महत्त्वपूर्ण योगदान पु¥याएको उललेख गर्दै प्रधानमन्त्री देउवाले प्रवासमा रहेका नेपालीलाई समेत भाषा र साहित्यको माध्यमले देशलाई जोड्ने कार्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानले महत्त्वपूर्ण कार्य गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– “इतिहास निर्माणमा पुर्खाका योगदान हाम्रा गौरव हुन् । विविध जाति, भाषा, संस्कृति हाम्रा विशिष्ट सम्पदा हुन् । तिनको खोजी र प्रकाशन आजको प्रमुख आवश्यकता हो । यो कार्यमा प्रज्ञा–प्रतिष्ठानले आगामी दिनमा ध्यान दिई हाम्रो अपार बौद्धिक सम्पत्तिलाई विश्वसामु पस्कँदै ज्ञानको भण्डारलाई फराकिलो बनाउँदै लैजानुपर्छ ।” उहाँले स्थापना कालमा ज्ञान विज्ञानको क्षेत्रसमेत प्रतिष्ठानको कार्यक्षेत्रभित्र रहेको स्मरण गर्दै वर्तमानमा भाषा साहित्य, कला, सङ्गीत नाट्यको बेग्लाबेग्लै प्रज्ञा–प्रतिष्ठान स्थापना गरी राज्यले प्राथमिकता दिइरहेको बताउनुभयो ।
उहाँले भाषा, साहित्य, दर्शनशास्त्र, समाजशास्त्रको क्षेत्रमा प्रज्ञा– प्रतिष्ठानले गर्दै आएको खोज–अनुसन्धानलाई आगामी दिनमा थप सुदृढ गर्दै लैजान आवश्यक रहेको समेत बताउनुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठानले स्थापनाकालदेखि नै नेपाली भाषा, साहित्य, संस्कृति र कलाको विकासमा योगदान पु¥याउँदै आएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले डेढ लाख शब्दसहितको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ तयारी हुँदै गरेको जानकारीले आफू उत्साहित भएको समेत बताउनुभयो । उहाँले प्राज्ञिक सामग्रीको प्रकाशन, शब्दकोशको एप, महाकवि देवकोटा सङ्ग्रहालय निर्माण, प्रज्ञाका पुस्तक अनलाइनमार्फत पढ्न मिल्नेगरी एपको निर्माणजस्ता प्रज्ञाको कार्यप्रति प्रशंसा गर्नुभयो । प्रधानमन्त्री देउवाले ‘नेपाल एकेडेमी इ–बुक एप’को शुभारम्भ समेत गर्नुभयो । सो एप मार्फत् पुस्तकको पिडिएफ भर्सन खरिद गरी पाठकले पढ्न सक्नेछन् ।
कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री एवम् प्रज्ञा–प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालको उच्च प्राज्ञिक संस्था भएको बताउनुभयो । मन्त्री श्रेष्ठले नेपालका सम्पूर्ण साहित्यकारका बिचमा प्राज्ञिक नेतृत्व प्रदान गर्नुका साथै नेपालको गौरवलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पु¥याउने कार्य प्रज्ञा–प्रतिष्ठानले गरिरहेको बताउनुभयो ।
समारोहका अध्यक्ष कुलपति गङ्गाप्रसाद उप्रेतीले आफ्नो कार्यकालमा दक्षिण एसियाका थुप्रै प्रतिष्ठानसँग साहित्यिक तथा सांस्कृतिक सम्बन्ध स्थापित गर्न सफलता मिलेको बताउनुभयो । उहाँले बीआरआई लिटरेरी नेटवर्कको संस्थापकका रूपमा नेपाल रहेको उल्लेख गर्दै एकअर्काको भाषाका साहित्य अनुवाद मार्फत् विश्व सम्बन्ध विस्तार गरिएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा थालिएका धेरै काम सम्पन्न गर्ने चरणमा रहेको बताउनुभयो ।
उपकुलपति डा.जगमान गुरुङले स्वागत मन्तव्य राख्दै भौतिक योजना मात्र राष्ट्रिय गौरवका योजना हुने ? भाषा, कला, संस्कृति चाहिँ राष्ट्रिय गौरव नुहने ? भन्ने प्रश्न गर्दै भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा राज्यले यथेस्ट लगानी बढाउनुपर्ने बताउनुभयो ।
सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले धन्यवाद ज्ञापन गर्दै कोरोना महामारीबिच पनि प्रज्ञा–प्रतिष्ठानले लक्षित उद्देश्य हासिल गरेको चर्चा गर्नुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठानका समग्र गतिविधिबारे चर्चा गर्दै बजेटको अभावले सोचेजति काम गर्न नसकिएको बताउनुभयो । उहाँले आफ्नो कार्यकाल करिब डेढ महिना रहेको भए पनि सरकारबाट बजेट प्राप्त भए विश्व वाङ्मय सम्मेलन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्य, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), नेपाल प्रज्ञा– प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, राष्ट्रिय योजना अयोगका सदस्य रामकुमार फुयालले प्राज्ञ सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
विभिन्न प्रज्ञा पुरस्कार घोषणा
समुद्घाटन समारोहपछि प्राज्ञ सभाका अध्यक्ष कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको प्राज्ञ सभाको ३७ औँ बैठकले विभिन्न विशिष्ट प्रतिभाहरूलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । जसअनुसार २०७९ का लागि रुपन्देहीका रामचन्द्र भट्टरालाई रु. एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार, पहाडी हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि दोलखाका खेन्पो डवाङ वोसेर लामा शेर्पालाई रु. एक लाख राशिको नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार, यसै गरी मधेस तराईमा बोलिने मातृभाषाको साहित्यका लागि कञ्चनपुरकी शर्मिलाकुमारी चौधरीलाई रु. एक लाख राशिको नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार, भोजपुरका प्रा.डा. प्रेमकुरमार खत्रीलाई रु. एक लाख राशिको नेपाल प्रज्ञा संस्कृति पुरस्कार, काठमाडौँका प्रा. विद्यानाथ उपाध्यायलाई रु. एक लाख राशिको नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार, काठमाडौँका डा. नयनाथ पौडेललाई रु. एक लाख राशिको नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
यसै गरी २०७८÷०७९ का लागि भारत, दार्जिलिङका नरबहादुर दाहाललाई रु. दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार र झापाका प्रा.डा. गोविन्दराज भट्टराईलाई रु. दुई लाख राशिकै नेपाल प्रज्ञा अनुवाद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
३० करोड २० लाख ४२ हजारको बजेट पारित
प्राज्ञ सभाको ३७ औँ बैठकले आ.व. २०७९÷०८० का लागि रु. ३० करोड २० लाख ४२ हजारको बजेट पारित गरेको छ । नेपाल सरकारबाट विगतमा भन्दा कम बजेट विनियोजन भएपछि नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३७ औँ बैठकले थप रकम माग गर्ने गरी चालु आर्थिक वर्षका लागि बजेट र कार्यक्रम स्वीकृत गरेको हो ।
गत आर्थिक वर्षमा सरकारबाट प्रज्ञा–प्रतिष्ठानलाई रु. १९ करोड १२ लाख ६४ हजार विनियोजन भएकामा चालु आर्थिक वर्षका लागि रु १४ करोड २३ लाख मात्रै विनियोजन भएको छ । गत आर्थिक वर्षमा रु २५ करोड १४ लाख ३९ हजार आठ सय २४ यथार्थ आयव्यय विवरण सभामा प्रस्तुत भई पारित भएको छ । गत आ.व.मा प्रज्ञा–प्रतिष्ठानले आन्तरिक कोषबाट रु. ६ करोड एक लाख ८५ हजार खर्च गरेको थियो ।
See Translation
+11

Comments are closed.