धनुषा । यही मङ्सिर २६ देखि पुस २ गतेसम्म जनकपुरधाममा हुने सीताराम विवाह महोत्सवको तयारी सन्दर्भमा आज जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।त्रेता युगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा गुरु विश्वामित्रसँग जनकपुरधाम आई धनुष भङ्ग गरी सीतासँग स्वयमवर गर्नु आदि स्मृतिमा सीताराम विवाह महोत्सव यहाँ मनाउने चलन रहेको छ ।
रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयंवरमा विभिन्न देवी देवताको उपस्थिति रहेको थियो । यसै प्रसङ्गलाई विभिन्न पक्षद्वारा प्रतीकात्मक रूपमा देखाउनु नै सीताराम विवाह महोत्सवको विशेषता रहेको छ । बैठकले यही पृष्ठभूमिलाई सफल र भव्यता प्रदान गर्न मूल समिति, उपसमिति गठन र व्यवस्थापनका विविध आयामबारे छलफल र कार्यान्वयनमा जोड दिएको छ ।
सीताराम विवाह महोत्सवको साताव्यापी कार्यक्रमअन्तर्गत मङ्सिर २६ गते जनकपुरधाम नगर दर्शन, २७ गते फूलवारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर, पुस १ गते स्वयम्वर तथा विवाह उत्सव र २ गते राम कलेवा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले बताए ।
यसका साथै विवाह पञ्चमीका दिन हेलिकप्टरबाट पुष्पवृष्टि गरिने कार्यक्रम पनि रहेको सहायक महन्त रामरोशन दास बैष्णवले बताए । सीतालाई छोरी, बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेको जानकार डा राजेन्द्र विमलले बताए ।
Comments are closed.