प्रधानमन्त्री ओली आज विश्वासको मत लिँदै

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतवार) संसदबाट विश्वासको मत लिँदैछन् ।प्रधानमन्त्रीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
एमाले संसदीय दलका नेता ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । असार २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्मा पेश गरेको विश्वासको मतको प्रस्ताव फेल भएको थियो । उनले ६३ मत मात्रै पाएका थिए । उनको विपक्षमा १९४ मत परेको थियो ।कांग्रेसका ८८, एमालेका ७८, राप्रपाका १४, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपा र नागरिक उन्मुक्तिका ४–४ र २ स्वतन्त्र मत पनि विपक्षमा परेको थियो । जुन दुई-तिहाइभन्दा बढी मत हो ।
यसैले ओलीले आज दुई–तिहाइ विश्वासको मतका लागि तयारी गरेका छन् । ओलीलाई एमालेसँगै कांग्रेस, जसपा नेपाललगायत अधिकांश दलले विश्वासको मत दिँदैछन् । उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायत दलले मतदान गर्दैछन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

Comments are closed.