प्रधानमन्त्री प्रचण्ड पाँचौँ पटक विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।
नेकपा एमालेसहितका पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार आज विश्वासको मत लिन लागेका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, तर अहिलेसम्म प्रधानमन्त्री दाहालसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ । कांग्रेस-एमालेसहित अन्य साना केही दलहरू समेत दाहालको विपक्षमा उभिएका छन् । जसले त्यसैले प्रधानमन्त्री दाहालले विश्वासको मत नपाउने निश्चित प्रायः छ ।

दाहाल पछिल्लो पटक ११ पुस २०७९ मा प्रधानमन्त्री बनेका थिए । उनले आजको सहित गरेर यो कार्यकालमा पाँचौ पटक संसदबाट विश्वासको मत लिन लागेका हुन् । नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो ।

Comments are closed.