राष्ट्रिय सुरक्षा र चुनौतीको अध्ययन गरेर काम गर्न सशस्त्रलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सुरक्षा र चुनौतीको विषयलाई सुक्ष्म अध्ययन गरी आवश्यक रणनीतिसहित अगाडि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा आज (आइतबार) सिनं १५ का सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान, प्रचलित कानुनको अधिनमा रही सरकारको निर्देशन बमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुन सशस्त्र प्रहरीको ध्यानाकर्षण गराए।

उनले आगामी दिनमा सूचना प्रविधिको विकासले दिएको अथाह सम्भावनाका साथै निम्त्याएका बहुआयमिक चुनौतीको सामना र सम्बोधन गर्न सङ्गठनले थप प्रभावकारी योजना निर्माण गरी क्षमता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘एउटा बलियो र सार्वभौम राज्यका लागि भूगोल, जनता, राज्यको अग्रगामी चरित्र, जनउत्तरदायी राज्ययन्त्र, स्वाधीन अर्थतन्त्र, बलियो सरकारलगायतका आधारभूत पक्ष आवश्यकता पर्छ, बलियो सुरक्षा अङ्ग र प्रभावकारी सुरक्षाबिना देशमा विकास र समृद्धिको वातावरण एवं मनोविज्ञान निर्माण गर्न सम्भव हुँदैन, त्यसैले नेपालको संविधान, प्रचलित कानुनको अधिनमा रही सरकारको निर्देशन बमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुनुपर्छ।’

उनले सशस्त्र प्रहरी बलले सम्पादन गर्ने काम र जिम्मेवारीलाई थप विशिष्टिकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिवृद्धि, साधनस्रोतको उपलब्धता, सुदृढ सङ्गठन प्रणाली र व्यवस्थापन महत्वपूर्ण पक्ष भएको बताए।

प्रधानमन्त्री प्रचण्डले सङ्गठनलाई आधुनिक र व्यावसायिक सुरक्षा निकायका रूपमा थप विकसित तुल्याई जनशक्ति, साधनस्रोत, भौतिक पूर्वाधार र अन्य सुधारका क्षेत्रमा ध्यान जानुपर्नेमा जोड दिए।

उनले सङ्गठनलाई राज्यले दिएको विशिष्ट, महत्वपूर्ण र विशेष कार्य प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सङ्गठनले जनशक्तिको नेतृत्व क्षमतामा विशेष ध्यान दिन आवश्यक भएको बताए।

सशस्त्र प्रहरीलाई नियमित कार्यसम्पादनका साथै विकसित नयाँ चुनौतीतर्फ ध्यान केन्द्रित हुन पनि उनले आग्रह गरे। सशस्त्र प्रहरी प्रतिष्ठानले अहिलेदेखि नै विशेष अध्ययन र चासो लिएर सम्भावित चुनौतीको पूर्वानुमान गरी सोहीअनुरूपको रणनीति तय गर्नुका साथै प्रशिक्षार्थीलाई प्रशिक्षित र परिचालित गर्न गम्भीर ध्यान दिने विश्वास उनले व्यक्त गरे।

सशस्त्र प्रहरीले राज्यले सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिक निष्ठा, अनुशासन र इमान्दारिताका साथ सम्पन्न गर्दै आइरहेको सशस्त्र प्रहरी बलले राष्ट्रका आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, महामारी नियन्त्रण, राजस्व गस्ती एवं भन्सार सुरक्षाका साथै राष्ट्रिय सुरक्षाका मूलभूत पक्षमा गहन भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गरे।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रको सार्वभौमिकताको रक्षाका निम्ति प्रतिकूल मौसम, भौगोलिक विकटता तथा साधनस्रोतको सीमितताका बाबजुद सशस्त्र प्रहरीले गरेको कार्यसम्पादनका लागि सशस्त्र प्रहरीलाई धन्यवाद पनि दिए।

Comments are closed.