भुटाहा तनाव नियन्त्रणबाहिर, ५१ राउण्ड फायर, केही घाइते

काठमाडौं : शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरीको भुटाहा बजार तनावग्रस्त बनेको छ। हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रणबाहिर गएको हो।

दिउँसो १ बजेपछि शुरु तनाव दोहोरो झडपमा परिणत भएको छ। तनावग्रस्त क्षेत्रमा बाक्लो सुरक्षा तैनाथ भए पनि दुई पक्षको हुलका कारण सुरक्षाकर्मी पछि हट्नुपर्ने अवस्थाको सृजना भएको छ।

प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरी पोष्टमा क्षति पुर्‍याएका छन्। सुनसरी प्रहरीले दिएको जानकारीअनुसार अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको छ।

दुई जनालाई गोली लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। अश्रुग्यास र हवाई फायर के कति भएको भन्ने विषय यकिन भइ नसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले निषेधाज्ञाका बाबजुत भीड नियन्त्रणमा आउन नसकेको बताएका छन्। उनले अवस्था नियन्त्रणमा लिन हरसम्भव प्रयास भइरहेको बताए।

यसैबीच अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ। दलीय प्रतिनिधि सहितको उपस्थितिमा प्रशासन कार्यालयमा बसेको बैठकले अनियन्त्रित बन्दै गएको भीडलाई संयमता अपनाउन पहल गरिदिन सरोकारवालासमक्ष आग्रह गरेको छ।

कोशी प्रदेशका तीनवटै सुरक्षा निकायका डिआइजी समेतको उपस्थितिमा इनरुवामा सम्पन्न बैठकले अवस्था थप नियन्त्रण बाहिर जाने देखिए सुरक्षाकर्मीले बल प्रयोग गर्नसक्ने चेतावनी दिएको छ।

जारी तनाव र प्रदर्शन दक्षिणी भेग हुँदै आसपासका शहर बजारमा समेत बढ्दै गएको छ। दुई समुदायका प्रदर्शनकारी आपसमा भिडेपछि भुटाहा बजारसँगै गौतमपुर, देवानगञ्ज लगायत दक्षिणी भेगका अधिकांश क्षेत्र तनावग्रस्त बनेको छ।

यो समाचार तयार पार्दासम्म सुनसरी प्रशासनले हरिनगर गाउँपालिकाका सबै वडा र देवानगञ्जको १ र २ नम्बर वडालाई लक्षित गरी निषधाज्ञा जारी गरेको छ। आवश्यक्ताअनुसार दायरा बढाउने वा थप कडाईको आदेश गर्नसक्ने जनाएको छ।

भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थियो। घाइते जीवन मेहता धरानमा उपचाररत छन्। उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ। उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको विरोधमा आज बिहानैबाट प्रदर्शन चर्काएका थिए।

मुस्लिम समूहका युवाको कुटपिटमा परेका हिन्दु युवाले मुस्लिम धर्मसँग सम्बन्धित उश्रृङ्खल अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। सोही कारण उनीमाथि आक्रमण भएको बुझिएको छ।

घटना विषयमा हिन्दु र मुस्लिम दुवै पक्षले आफ्नो पक्षको अडान राख्दै आएका छन्। जसले आज दई समुदायबीच झडपको अवस्था निम्त्याएको हो। घटनामा बाहिरी जिल्लाबाट मानिस आउन प्रशासनले कडाई गरे पनि विरोधमा सामेल हुन आउनेको संख्या बढ्दै गएको छ।

 

Comments are closed.