केन्द्रीय समिति बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति तय गरिने छ: प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय महाधिवेशनकाे मिति चाँडै घोषणा हुने बताउनुभएकाे छ ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चाको साताैं राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी केन्द्रीय समिति बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति तय गरिने जानकारी दिनुभयाे ।
समाजवादी क्रान्तिको निम्ति माओवादी अब महाधिवेशनतिर जाने उहाँले बताउनुभयाे । ‘अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्छ, पहिला पनि हामीले ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरेका थियौं, सायद त्यस्तै दिन छानेर महाधिवेशनको उद्घाटन गर्छौं, नयाँ विचार संश्लेषण गर्छौं, नयाँ अभियानसहित लैजान्छौं र गणतन्त्रको सुद‍ृढकरणसहित देशलाई अघि बढाउन यही पार्टीले सक्छ भन्ने विश्वास दिलाएरै छाड्छौं’- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।

जनयुद्ध अपराजय युद्ध भएकाे र जनयुद्धकै कारण नेपाल गणतान्त्रिक अवस्थामा आउन सम्भव भएकाे प्रधानमन्त्री प्रचण्डले गर्नुभयाे । संगठन अहिले अलि कमजाेर भइरहेकाे हाे कि जस्ताे देखिएकाे भन्दै उहाँले चाँडै केन्द्रीय समितिकाे बैठक बसेर अभियानसम्बन्धी निर्णय गरिने बताउनुभयाे । सबै नेतालाई व्यस्त बनाउनेगरी केन्द्रीय समितिले निर्णय गर्ने पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।

Comments are closed.