रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाइएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्क (रूसी भू-भाग)मा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आह्वान गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ युक्रेनी सेनाको जीवन रक्षा गर्न पुटिनलाई आग्रह गर्दै आफ्ना राजदूतले प्रस्तावित ३०दिने युद्धविरामबारे रुसका नेतासँग ‘फलदायी’ वार्ता गरेको जनाएका छन् ।

गत अगष्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः कब्जा गर्दै रुसले विगत एक हप्तादेखि कुस्र्कको पश्चिमी सीमा क्षेत्रमा तीव्र प्रतिकार गरेको छ ।

कुस्र्कमा भएको हार युक्रेनको तीन वर्ष लामो युद्धका लागि शान्ति वार्तामा महत्त्वपूर्ण ‘बार्गेनिङ’को रूपमा यस क्षेत्रमा आफ्नो पकड प्रयोग गर्ने योजनामा ठूलो धक्का हुनेछ ।

रुसी टेलिभिजनमा प्रशारण भएको सम्बोधनमा पुटिनले भनेका छन्, ‘हामी अमेरिकी राष्ट्रपति ट्रम्पको आह्वानप्रति सहानुभूति राख्छौँ । यदि युक्रेनी सेनाले हतियार त्यागेर आत्मसमर्पण गरे भने उनीहरूलाई जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुनेछ ।’

ट्रम्पले युक्रेनका हजारौँ सैनिकलाई रुसी सेनाले पूर्णरुपमा घेरेको र निकै खराब र कमजोर अवस्थामा रहेको बताएका थिए । यसै सन्दर्भमा ट्रम्पले भनेका छन्, ‘मैले राष्ट्रपति पुटिनलाई उनीहरु (रूसी जमिनमा रहेका युक्रेनी सेना)को जीवन रक्षा गर्न जोडदार अनुरोध गरेको छु । यदि, रूसले त्यहाँ उनीहरूविरूद्ध आक्रमण गरेमा यो एक भयानक नरसंहार हुनेछ, जुन दोस्रो विश्वयुद्धपछि कहिल्यै देखिएको थिएन ।’

Leave A Reply

Your email address will not be published.