सिनेमा ‘बोक्सीको घर’को ‘बुझिन मैले’ सार्वजनिक

काठमाडौं । वैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बोक्सीको घर’को गीत सार्वजनिक गरिएको छ । कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको हो ।
गीतमा समीक्षा अधिकारी र प्रकाश सपूतको स्वर रहेको छ । गीतमा गायक सपूतकै शब्द रचना तथा संगीत छ ।
सिनेमाको गीतमा केकी अधिकारी, निर्देशक तथा कलाकार सुलक्षण भारती, रमा थपलियालगायत कलाकार फिचर्ड छन् ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमा आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ ।
अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताएकी छन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको छ ।
सिनेमामा निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।
सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

Comments are closed.