नयाँदिल्ली । भारतका राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार आयोजित ७५ औँ गणतन्त्र दिवसको अवसरमा कर्तव्य पथमा राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस समारोहको औपचारिक सुरुआत गर्नुभयो ।
सन् १९४७ अगष्ट १५ मा भारतलाई स्वतन्त्र राष्ट्र घोषणा गरिएको भएपनि सन् १९५० जनवरी २६ मा संविधान जारी गरी भारतले आफूलाई सार्वभौम, लोकतान्त्रिक र गणतान्त्रिक राज्य घोषणा गरेको थियो । यसै दिनको सम्झनामा हरेक बर्ष जनवरी २६ मा भारतमा गणतन्त्र दिवस मनाउने गरिन्छ ।
७५ औँ गणतन्त्र दिवसको अवसरमा आयोजित समारोहस्थलमा राष्ट्रपति मुर्मू र प्रमुख अतिथि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको थियो । उहाँहरूलाई राष्ट्रपति मुर्मूका अङ्गरक्षकको सुरक्षा घेरामा राष्ट्रपति भवनतर्फ लगिएको थियो ।
राष्ट्रपतिको अङ्गरक्षक भारतीय सेनाको सबैभन्दा शीर्षस्थ सैन्य इकाई हो । गणतन्त्र दिवसमा यस शीर्षस्थ सैन्य इकाइको भूमिकालाई विशेष मानिन्छ किनकि यसको स्थापना सन् १७७३ मा भएको र सेवाको २५० वर्ष पूरा गरेको छ ।
राष्ट्रपतिका सुरक्षागार्डका कमान्डेन्ट कर्णेल अमित बर्वाल राष्ट्रपतिको बग्गीको दाहिनेतिर चढेर घोडसवारहरूको यो प्राचिन सैन्य इकाईको नेतृत्व गर्नुभएको थियो ।
समारोहमा राष्ट्रगान बजाइएको थियो र राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो ।
भारत भ्रमण गरौँ र प्रजातन्त्रकी जननी भारत भन्ने दुई नाराका साथ आयोजित समारोहमा चार दशकको अन्तरालपछि पुनरागमन भएको ‘परम्परागत बग्गी’ सवारीमा दुई राष्ट्रपतिलाई कर्तव्य पथबाट राष्ट्रपति कार्यलयतर्फ लगिएको थियो ।
यसपटकको सैन्य परेडमा पहिलो पटक महिला त्रिसैनिक दस्ताले भाग लिएको थियो भने १६ वटा राज्य र केन्द्र शासित प्रदेशले पनि सांस्कृतिक प्रस्तुति र झाँकीमार्फत् आफ्नो सम्पदा विविधता प्रदर्शन गरेका थिए ।
यसअघि परेडमा फ्रान्सेली सेनाको एक टुकडीले पनि भाग लिएको थियो ।
सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनसहित आयोजित समारोह शुक्रबार नै समापन भएको छ ।
भारतको सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनपछि कर्तव्य पथमा सैन्य प्रदर्शनसहित राष्ट्रपति मुर्मू र गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि तथा उहाँका फ्रान्सेली समकक्षी म्याक्रोँलाई राष्ट्रपति भवनतर्फ लगेपछि गणतन्त्र दिवसको औपचारिक समारोह सम्पन्न भएको हो ।
गणतन्त्र दिवसका अवसरमा शुक्रबार देशभरी र देशबाहिर रहेका कुटनीतिक नियोग तथा समुदायले पनि विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएका छन् ।
रासस
Comments are closed.