काठमाडौँ– विभिन्न १२ वटा भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेको छ।
नागरिक लगानी कोषसमेतको लगानी रहेको साबिकको रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडसँग जोडिएका ११ मुद्दा र राजश्व हानीनोक्सानीसँग जोडिएको अर्को एक मुद्दामा अख्तियार पुनरावेदन गएको हो।
हालको एनसिसी बैंक रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडसँग जोडिएका ११ मुद्दामा विभिन्न व्यक्ति र संस्थालाई बैंकिङ प्रक्रिया विपरीत कर्जा प्रवाह गरी हिनामिना तथा हानीनोक्सानी गरेर भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुरुपको कसुरमा अख्तियारले मुद्दा चलाएको थियो।
ती मुद्दाहरूमा विशेष अदालतमा २०८० फागुन १० गते फैसला गर्दै सबै अभियुक्तलाई सफाई दिएको थियो। त्यसविरुद्ध एक वर्षपछि बिहीबार अख्तियार सर्वोच्च पुगेको हो।
अख्तियारले चलाएको मुद्दाअनुसार पहिलो मुद्दामा एनबिडिएर सुपरमार्टका सञ्चालक अनोज श्रेष्ठलाई बैंकिङ प्रक्रिया विपरीत तीन करोड ८७ लाख ९४ हजार बढी रकम कर्जा परिचालन गरेको भन्दै रोयल मर्चेन्टका लागि नागरिक लगानी कोषका प्रतिनिधि छविरमढा अधिकारी, रोयल मर्चेन्टका संचालक वसन्त मल्लसमेतका व्यक्तिलाई प्रतिवादी बनाइएको छ।
यस्तै, दोस्रो मुद्दामा ऋणी रविन लामालाई दुई करोड भन्दा बढी प्रक्रिया विपरीत कर्जा प्रवाह गरेर भ्रष्टाचार गरेको आरोप छ। जसमा पनि अधिकारी, मल्लसमेतका व्यक्तिलाई प्रतिवादी बनाइएको छ।
यस्तै, तेस्रो मुद्दामा ऋणी भैरवप्रसाद भेटवाललाई प्रक्रिया विपरीत ११ लाख ५४ हजार बढी रकम कर्जा प्रवाह गर्ने वसन्त मल्ल, मधुवनलाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता बादे श्रेष्ठ सेवाचार्य, छविरमण अधिकारी, भरतकाजी श्रेष्ठ, लोकेन्द्रमान कर्माचार्यसमेत प्रतिवादी बनाइएको छ।
चौथो मुद्दामा गुरु गोरखनाथ हाउजिङ प्रालिका सञ्चालक मन्जिल भेटवाललाई एक करोड ४५ लाख बढी रकम प्रक्रिया विपरीत कर्जा प्रवाह गरेर भ्रष्टाचार गरेको अभियोगमा छविरमण अधिकारी, रिता बादे श्रेष्ठ सेवाचार्य, सुवर्ण राजभण्डारी, विष्णुप्रसाद धिताल, इच्छाबहादुर गुरुङ र लोकेन्द्रमान कर्माचार्यसमेतलाई प्रतिवादी बनाइएको छ।
यस्तै, पाँचौ मुद्दामा इनोभेटिभ कन्सेप्ट नेपालका सञ्चालक मनोजकुमार भेटवाललाई ११ करोड ११ लाख ५८ हजार बढी, छैठौं मुद्दामा बादशाह फुडल्याड प्रालिका सञ्चालक ऋषिश्वर थपलियालाई ५ करोड ८७ लाख ३२ हजार बढी, सातौं मुद्दामा पन्चकन्या सप्लायर्स प्रालिका सञ्चालक नरेश दाहाललाई चार करोड ६३ लाख ३८ हजार बढी, आठौं मुद्दामा घनश्याम घिमिरेलाई दुई करोड १५ लाख २५ हजार बढी, नवौं मुद्दामा ऋणीराम शाह र रामबहादुर शाहलाई चार करोड ३५ लाख ९८ हजार बढी कर्जा प्रवाह गरेको भन्दै अख्तियारले मुद्दा चलाएको थियो।
यस्तै, १० औँ मुद्दामा हजुरको हार्डवेयर पसलका संचालक मुकुन्दप्रसाद पराजुलीलाई दुई करोड ९७ लाख ९१ हजार बढी र ११ मुद्दामा अरुणिमा हाउजिङ प्रालिका संचालक रोहित दाहाललाई एक करोड ७५ लाख ६७ हजार बढी रकम प्रक्रिया विपरीत कर्जा प्रवाह गरेको भन्दै उक्त कार्यमा संलग्न व्यक्तिविरुद्ध मुद्दा चलाएको थियो।
तर, त्यसमा विशेष अदालतले सफाई दिएपछि अख्तियार सर्वोच्च पुगेको हो।
यस्तै, अर्को मुद्दा हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीसमेतका प्रतिवादीहरुले नयाँ रोड बजारअन्तर्गत पूर्व पश्चिम राजमार्गसँग जोडिएको जग्गा खेती योग्य बाटो नभएको भनी गलत घर बाटो प्रमाणित गरी नौ लाख ३६ हजार राजश्व हानी नोक्सानी गरेको भन्दै अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले ०८० फागुन ३० गते सफाई दिएको थियो।
त्यसविरुद्ध पनि अख्तियार सर्वोच्च पुगेको छ।
Comments are closed.