रुस–युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन सरकार गम्भिर: मन्त्री साउद
काठमाडौं । रुसी सेनामा भर्ती भई युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीका परिवारले परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाट गरेका छन् ।
मंगलबार दिउँसो सिंहदरबारमा मन्त्री साउँदलाई भेट्दै उहाँहरुले रुस–युक्रेन युद्धमा ज्यान गुमाएका नेपाली युवाहरुको शव नेपाल ल्याईदिन माग गरेका हुन् ।
परराष्ट्रमन्त्री एनपी साउदले रसियन सेनामा भर्ति भई ज्यान गुमाएका युवाहरुको शव ल्याउनेदेखि परिवारलाई उचित क्षतिपुर्ति दिने विषयमा सरकार गम्भिर रहको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले शवहरु ल्याउन रसियन सरकारसँग पहल भइरहेको बताउँदै रसियन सेनामा रहेका नेपाली युवाहरुलाई फिर्ता गर्नका लागि समेत पहल भइरहेको उल्लेख गर्नु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले रसियन सेनामा भर्ति भएका नेपाली सेनाहरु जो दिवंगत भएका छन् । उहाँहरुको पार्थिव शरिरलाई नेपाल कसरी ल्याउन सकिन्छ भन्नेबारे सरकारले छलफल अगाडि बढाएको छ । रसियन सेनामा रहेका २४५ जनाका परिवारहरुले परराष्ट्र मन्त्रालयको कन्सुलर डिपार्टमेन्टमा आवेदन दिनुभएको छ । अझैं कोही छुट्नु भएको छ भने उहाँहरुलाई हामीले वडा, पालिकाका माध्यमबाट अनलाइनमै आवेदन दिन भनेका छौं ।’
परराष्ट्रमन्त्री साउदले कोही रसियन सेनामा भर्ति भएको भए सम्बन्धित व्यक्तिको पासपोर्ट नम्बर, नागरिकता नम्बर, नाम ठेगाना र पठाउने मान्छे लगायत सकिने जति विवरण पठाउन समेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यसरी रसियन तथा विभिन्न जोखिमयुक्त देशहरुमा गएका युवाहरुको पीडा नै सरकारको पीडा हो, आम नेपालीको पीडा हो । सरकारले मान्यता नदिएका जोखिमपूर्ण ठाउँहरु, युद्ध भइरहेको ठाउँहरुमा रोक्न आग्रह गर्दै गएका भए फिर्ताका लागि मन्त्रालयलाई आवेदन दिन सकिन्छ ।’
नेपालसँग सम्झौता भएका बाहेकका देशमा भर्ती हुन नजान आग्रह गर्दै मन्त्री साउदले सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न बाहेकले रूस जाँदा परराष्ट्र मन्त्रालयले जारी गर्ने ‘नो अब्जेक्शन सर्टिफिकेट’ अनिवार्य लिनसमेत अपिल गर्नुभएको छ ।
Comments are closed.