काठमाडौं : सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ। शनिबार हेलिकोप्टर दुर्घटनापछि उद्धार गरी पाइलट सेढाईंको ह्याम्स अस्पतालमा उपचार गरिएको थियो।
परिवारका सदस्य र मनाङ एयरको सल्लाहमा उनलाई ‘मेडिकल स्कर्टिङ’ गरी मुम्बई लगिएको हो। सेढाईंको थप उपचार मुम्बईको नेशनल बर्न सेन्टरमा भइरहेको पारिवारिक स्रोतले जनाएको छ।
ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा निशान्त ढकाल, डा रामकृष्ण बुढाथोकी, डा आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलिजंग शाहीले सेढाईंलाई नेशनल बर्न सेन्टर पुर्याएका थिए।
ह्याम्सको टोलीले आइतबार बिहान १ बजे मुम्बईको नेशनल बर्न सेन्टरमा बिरामी हस्तान्तरण गरिसकेको छ। ह्याम्सको टोली आइतबार आजै विहान स्वदेश फर्किसकेको छ।
शनिबार बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको ‘एन–एनजे’कलसाइन हेलिकप्टर जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो। लेक लागेका आरोहीलाई लिन गएको हेलिकोप्टरमा दुर्घटना हुँदा पाइलट सेढाईं मात्रै थिए।
सेढाईंको मुख, हातखुट्टा लगायत शरीरको ४५ देखि ५० प्रतिशत भागमा जलन भएको ह्याम्स अस्पतालले जनाएको छ।
Comments are closed.