एसइईको नतिजा असार तेस्रो साता, सार्वजनिक गर्न बोर्डले माग्यो आवेदन

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए।

उनले भने, ‘अहिले नतिजा भेरिफाइ भइरहेको छ, यही असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने हाम्रो तयारी छ।’ २०७९ सालको एसइई परीक्षा गत चैत १७ गते (शुक्रबार) देखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भएको थियो।

परीक्षा बोर्डका अनुसार एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका छन्। एसइई परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको थियो। परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष , निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति खटिएका थिए।

तर परीक्षा भएको पहिलो दिनमै प्रश्नपत्र बाहिरिएको थियो। उक्त प्रश्नपत्र सामाजिक सञ्जालमा भाइरल भएको थियो। बाराको आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्युटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको थियो।

गाउँपालिका प्रशासनका शाखा अधिकृत सुनिल थापाका अनुसार परीक्षा शुरु भएको १५ मिनेटमै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको पाइएपछि प्रश्नपत्र आउट गर्ने छात्रको परीक्षासमेत रद्द गरिएको थियाे। धनुषाको औरही गाउँपालिकास्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि झन्डै एक घण्टा ढिलो एसइई परीक्षा शुरु भएको थियो।

तर परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले भने प्रश्नपत्र बाहिर आउट भयो भनेर बाहिर अफवाह फैलाइएको दाबी गरेका थिए। उनले भनेका थिए, ‘बाहिर अफवाह फैलाइयो, यो गलत कुरा हो, हामीले बिहान ७ बजेदेखि १० बजेसम्म बसेर सबै ठाउँको जानकारी लिइरहेका छौँ, हामीलाई त्यस्तो केही जानकारी आएको छैन,शान्तिपूर्ण राम्रो ढंगले परीक्षा सञ्चालन भइरहेको छ।’

नतिजा सार्वजनिक गर्न चाहने संस्थासँग आवेदन माग

परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थासँग आवेदन माग गरेको छ। बोर्डले बुधबार एसएमएस, आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक संस्थाहरूलाई असार १२ गतेभित्र आवेदन दिन भन्दै सार्वजनिक सूचना जारी गरेको हो।

सूचनाअनुसार संघ, संस्था वा कम्पनी प्रचलित कानूनबमोजिम दर्ता भएको हुनुपर्नेछ। संघ, संस्था वा कम्पनी भ्याट प्यानमा दर्ता भएको हुनुपर्नेछ। एसएमएसबाट प्रकाशनका लागि एकमुष्ट ४० हजार, वेबसाइटबाट प्रकाशनका लागि एकमुष्ट २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि एकमुष्ट ६० हजार, एसएमएस,आईभीआर र वेबसाइट सेवाका लागि एकमुष्ट एक लाखका दरले सेवा उपलब्ध गराउने प्रयोजनका लागि राजश्व बुझाउनुपर्नेछ।

‘असार १३ गते दिनको १ बजे प्रस्तावदाताको रोहबरमा प्राप्त प्रस्तावहरु परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० भक्तपुरमा खोलिनेछ, प्रस्ताव पेश गर्दा खामबाहिर एसएमएस,आईभीआर तथा वेबसाइट सेवासम्बन्धी प्रस्ताव भनी स्पष्ट उल्लेख गर्नुपर्नेछ,’ सूचनामा उल्लेख छ।

परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट नतिजा प्रकाशन गरेपछि मात्र नतिजासम्बन्धी विवरण उपलब्ध गराइने र नतिजासम्बन्धी जानकारी दिने कार्य नतिजा प्रकाशन भएको मितिले ३१ औं दिनबाट अनिवार्य बन्द गर्नुपर्ने जनाएको छ।

Comments are closed.