२०७९ मङ्सिर १४ गते । कपिलवस्तुका पुरातात्विक सम्पदाको अध्ययन र अनुसन्धानमा संस्कृति एवम् पुरातत्व विषयका अध्येता रामनिवास पाण्डेयको महत्वपूर्ण योगदान रहेकामा जोड दिइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा वरिष्ठ पुरातत्वविद् प्रा.डा. रामनिवास पाण्डेयको १९ औँ स्मृति दिवसका अवसरमा बुधवार आयोजना गरिएको ‘कपिलवस्तुका पुरातात्विक उपलब्धिहरू’ विषयक विचार–गोष्ठीका वक्ताहरूले पाण्डेयले त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागमा प्रमुख हुँदा पुर्याउनुभएको योगदानसमेत स्मरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीले पाण्डेयले अवधी भाषा र संस्कृतिको प्रवर्द्धनमा पाण्डेयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालले विश्वलाई दर्शन र सभ्यता दिएपनि प्रचार प्रसार गर्न नसक्दा ती दक्षिण एसियाका भनी स्थापित भएकाले अब यस्ता विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “हिमवत्खण्डले विश्वमा नेपालको आकर्षण बढ्यो, धेरै विदेशी आए, पुरातात्विक अन्वेषण सुरु भयो, नेपालको गरिमाका विषयमा विश्वको ध्यानाकर्षण भयो” निवर्तमान कुलपति उप्रेतीले भन्नुभयो ।
सभाका अध्यक्ष एवम् निमित्त कुलपति डा. जगमान गुरुङले त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागसँग मिलेर पाण्डेयका विषयमा अझै अध्ययन अनुसन्धान गरिने प्रतिबद्धता जनाउनुभयो । प्रमाणका आधारमा प्राचीन कपिलवस्तु तिलौराकोटमै रहेको भन्ने प्रमाणित भएको र त्यसमा पाण्डेयको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । इसापूर्व एक हजार ३०० वर्ष पहिलेको अवशेष कपिलवस्तुको उत्खनन्का बेला फेला परेकाले यसलाई पुष्टि गर्ने निमित्त कुलपति गुरुङले बताउनुभयो ।
निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले पुरातत्व उत्खनन्, अध्ययन, अनुसन्धान, चिन्तन र मनन्को विषय भएको बताउनुभयो । उहाँले यस क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभागका प्रमुख प्रा डा सोमप्रसाद खतिवडाले पाण्डेयले स्थापना गर्नुभएको विभागको सङ्ग्रहालय लथालिङ्ग भएको जानकारी गराउनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त विभागको भवन स्रोतको अभावमा पुनःनिर्माण हुन नसकेको उहाँको दुःखेसो छ । जसका कारण भवनमा पानी चुहिने समस्या छ ।
त्रिभुवन विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययनको सुरुवात् पनि पाण्डेयले नै गराउनुभएको खतिवडाले स्मरण गर्नुभयो । विभागमा गुणस्तरीयता कायम नगरे विघटनको खतरा रहेकाले पनि यसतर्फ सरोकार भएकाको ध्यान जानुपर्नेमा उहाँले ध्यानाकर्षण गराउनुभयो ।
त्रिवि संस्कृति विभागका पूर्व प्रमुख प्रा.डा. प्रेमकुमार खत्रीले पाण्डेयले अनुसन्धानलाई अध्ययनमा जोड्नुभएकाले पुरातत्व एवम् संस्कृतिको महत्व बढेर गएको सुनाउनुभयो । पाण्डेय जुनसुकै पुरातात्विक स्थलमा पुग्दा पनि त्यससँग सम्बन्धित सामग्री सङ्कलन गरेर ल्याउनुहुन्थ्यो । ती सामग्री एवम् कागजातलाई उहाँ छुट्टाछुट्टै पोका बनाएर राख्नुहुन्थ्यो । एउटा पोकाबाट एउटा पुस्तक बन्ने आफूलाई पाण्डेयले सुनाउनुभएको पनि खक्रीले कार्यत्रममा जानकारी गराउनुभयो ।
अवधी सांस्कृतिक परिषद्का सल्लाहकार तपानाथ शुक्लाले पुरातत्वविद् पाण्डेयले पुरातत्व क्षेत्रमा जत्तिकै योगदान अवधी भाषा र संस्कृतिको विकासमा पनि गर्नुभएको सुनाउनुभयो । कपिलवस्तुलाई पुरातात्विक स्थलका रुपमा स्थापित गर्न पाण्डेयले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । कपिलवस्तुको सीमापारि विश्वविद्यालय, विमानस्थललगायत संरचनाको विकास भइसक्दा पनि नेपालतिरको भागमा गौतम बुद्धको जन्मस्थलका रुपमा चिनाउन उल्लेखनीय काम हुन नसकेको भनाई शुक्लाले राख्नुभयो ।
पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले ‘कपिलवस्तुका पुरातात्विक उपलब्धिहरु’ विषयमा प्रस्तुति गर्नुहुँदै सन् १९६२ देखि २०२२ सम्म कपिलवस्तु क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र उत्खनन्का उपलब्धिहरुका बारेमा प्रकाश पार्नुभएको थियो ।
भारतीय पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले सन् १९०१ मा कपिलवस्तु र लुम्बिनी क्षेत्रमा अध्ययन गरेर प्रकाशित गरेको प्रतिवेदनमा पनि तिलौराकोट नै प्राचीन कपिलवस्तु उल्लेख गरिएको सो अवसरमा उहाँले जानकारी गराउनुभयो । तिलौराकोटमा सन् १९६२ देखि २०१० सम्म धेरै अनुसन्धान भएका थिए । तिलौराकोटलाई सम्भावित विश्व सम्पदा क्षेत्रका रुपमा राखी विभागले पूर्वाधार निर्माणका काम गरिरहेको जनाइएको छ ।
सन् २०१५ को उत्खनन्ले तिलौराकोटमा ठुलो पोखरी भेटिएको छ । यही पोखरीबाट प्रभावित भएर राजधानी काठमाडौँमा पनि पोखरी र ढुङ्गेधारा निर्माण भएको हुनसक्ने अनुमान गरिएको प्रमुख पुरातत्व अधिकृत कुँवरले जानकारी गराउनुभयो । उत्खनन्का क्रममा तिलौराकोटमा मौर्यकालका मुद्रा पनि भेटिएको थियो । विभागले तिलौराकोट क्षेत्रमा उत्खनन्सँगै संरक्षणको काम पनि गरिरहेको छ ।
अवधी सांस्कृतिक विकास परिषद्का सचिव विक्रममणि त्रिपाठीले पाण्डेय पुरातत्व विषयका नेपालमै पहिलो स्नातकोत्तर हुनुभएको उल्लेख गर्नुभयो । नेपालका दशनामी सन्यासी, नेपालको पौराणिक इतिहासलगायत पुस्तक पाण्डेयले लेख्नुभएको पनि उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादवले विश्वविद्यालयमा पढाएर फुर्सदका समय कपिलवस्तु घर जाँदा पाण्डेयले तिलौराकोटका बारेमा अध्ययन अनुसन्धान गर्ने गर्नुभएको स्मरण गर्नुभयो । कार्यक्रम प्राज्ञसभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले सञ्चालन गर्नुभएको थियो ।
Comments are closed.