बाबा रामदेवले आफू आउनुअघिनै जडीबुटी ज्ञाता र वैज्ञानिकको टोली खप्तड पठाएको खुलासा

२१ जेठ अर्थात् आइतबार बाबा रामदेवले पठाएका ३२ जना विज्ञ र वैज्ञानिकको टोलीले विभिन्न उपकरणका साथ खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न खोजेको थियो । निकुञ्जका रेन्जर ज्ञानेन्द्र शाहका अनुसार विभिन्न उपकरणले सज्जित सो टोलीसँग नेपाल सरकारले दिएको स्वीकृति नभेटिएपछि डोटीतर्फको झिक्राना प्रवेशद्वारमै रोकिएको थियो ।

बाबा रामदेवले सो टोली आफूखुसी पठाएको बताइएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबा रामदेव उपस्थित कार्यक्रमको आयोजकले भारतीय विज्ञ तथा वैज्ञानिकहरूको सो टोलीलाई निम्ता नपठाइएको दाबी गरेको छ । आयोजक खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीम खड्काले सम्मेलनमा बाबा रामदेव र आचार्य बालकृष्णलाई मात्रै निमन्त्रणा पठाइएकोमा उपकरणका साथ ३२ सदस्यीय टोली पनि आएको पुष्टि गरेका छन् ।

बालकृष्णले नै धनगढीमै पत्रकारसामु आफूले खप्तडमा जडीबुटीका लागि टोली नै पठाएको बताएका थिए । राष्ट्रिय निकुञ्ज विभागको स्वीकृति नभएकाले टोलीले आफ्ना उपकरण निकुञ्जभित्र लैजान नपाएको खड्काको भनाई छ । निकुञ्ज प्रवेश गर्न नपाएपछि वैज्ञानिक र वनस्पतिविज्ञको टोलीका अधिकांश सदस्य झिक्रानाबाटै भारत फर्केका थिए ।

रिसाए रामदेव, क्रुद्ध बालकृष्ण
आफूले पठाएको टोलीलाई नेपाली सेना र निकुञ्ज प्रशासनले खप्तडमा प्रवेश गर्न नदिएपछि बाबा रामदेव असन्तुष्ट बनेको पतञ्जलि योग समितिका सुदूरपश्चिमस्तरीय एक अगुवाले बताए । ती अगुवाका अनुसार बाबा रामदेवले बुधबार बिहान खप्तडमै योग सिकाउने निर्धारित कार्यक्रम थियो तर उद्घाटन समारोह सकिएलगत्तै बाबा भारत फर्किएका थिए ।

आचार्य बालकृष्ण भने मंगलबार खप्तडमै बसेका थिए । प्रत्यक्षदर्शीका अनुसार सेना र निकुञ्ज प्रशासनले ३२ सदस्यीय टोलीलाई प्रवेश रोक लगाएकोमा बालकृष्ण क्रुद्ध बनेका थिए । आचार्य बालकृष्णले आक्रोशित हुँदै ‘यसरी प्रतिबन्ध गरेमा नेपालको विकास कसरी हुन्छ’ भनेको ती प्रत्यक्षदर्शीले बताए ।

आचार्य बालकृष्ण नेपालको स्याङ्जा जिल्ला घर भएका आर्युवेदाचार्य हुन् । उनी पतञ्जलि योगपीठमा बाबा रामदेवपछिका सन्त हुन् । –मानसखण्डबाट

Comments are closed.