होटल सङ्घबाट बङ्गलादेशमा पर्यटन प्रवर्द्धन गर्दै समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ / होटल सङ्घ नेपालको आयोजनामा नेपाल पर्यटन बोर्ड र बङ्गलादेशस्थित नेपाली राजदुतावासको सहयोगमा जुन २१, २०२३ बुधबारका दिन ढाकास्थित होटल सेराटनमा पर्यटन प्रवद्र्धन तथा बीटुबी कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा बङ्गलादेशका विभिन्न सहरका प्रतिष्ठित सङ्घ संस्था तथा ९० भन्दा बढी पर्यटन व्यवसायीहरूको उपस्थितिमा होटल संघ नेपालको नेपाली प्रतिनिधिमण्डलका २४ होटल सदस्यहरूले बीटुबी कार्यक्रम सम्पन्न गरेका छन् ।

सो अवसरमा सम्बोधन गदैै प्रतिनिधिमण्डललाई नेतृत्व गर्ने होटल सङ्घका अध्यक्ष विनायक शाहले यस कार्यक्रमबाट बङ्गलादेशबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढावा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, बङ्गलादेशका पर्यटन मन्त्रालयका अतिरिक्त सचिव, बङ्गलादेश पर्यटन बोर्डका निर्देशकले, विभिन्न पर्यटनसँग सम्बन्धित  छाता सङ्गठन, सरकारी अधिकारीहरू र सार्क मुलुकको प्रतिनिधित्व गर्ने पत्रकारहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा होटल सङ्घ नेपाल (हान) र बङ्गलादेश इन्टरनेशनल होटल एसोसिएसन (बिहा) बीच पर्यटन प्रवद्र्धन र दुवै मुलुकमा आतिथ्य क्षेत्रको विकासका लागि सहकार्यका लागि अवसर खोज्न बुधबार  जुन २१ का दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।दुवै  संस्थाका तर्फबाट हानका अध्यक्ष विनायक शाह र बिहाका अध्यक्ष एचएम हकिम अलीले हस्ताक्षर गरेका हुन् ।

बङ्गलादेशी पर्यटकमाझ  नेपालको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै देशको पर्यटन प्रवद्र्धन गर्न होटल एशोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली सोमबार बङ्गलादेश आएको हो ।

 

Comments are closed.