सामाजिक सुरक्षा कोष नागरिकको कोखदेखि शोकसम्म : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्देशनमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षाको सुरुवात गरिएको बताउनुभएको छ ।

सामाजिक सुरक्षा दिवस २०८० को उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कार्यक्रममा देखिएका चुनौती सामूहिक प्रयासबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

गत चैत्र ८ गतेबाट सुरुवात गरिएको उक्त कार्यक्रममा लाखौँ श्रमिकहरू सूचिकृत भइसकेका दाहालले बताउनुभयो । दाहालले सरल र सहज रूपमा सुविधा उपलब्ध गराउन कोषको व्यवस्थापकीय पक्षलाई सुदृढ तुल्याउनसमेत निर्देशन दिनुभयो ।

कोषका अनुसार हाल १८ हजार ४३९ रोजगारदाता र ९ लाख २८ हजार ४ सय ५३ योगदानकर्ता कोषमा आबद्ध भएका दाहालले बताउनुभयो । जसमा औपचारिकतर्फ ४ लाख ६१ हजार ७ सय ९६ जना, वैदेशिक रोजगारीतर्फ ४ लाख ६६ हजार ६ सय २२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ तीन जना आबद्ध भएका उहाँले बताउनुभयो ।

यस अवधिसम्म कोषमा ५१ अर्ब २९ करोड रुपैँया संकलन भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । कोषबाट औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम करोड ७५ लाख र अवकाश दाबी रकम पाँच अर्ब ४८ करोड, ९६ लाख रहेको उहाँले बताउनुभयो । यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम १० करोड ९६ लाख रहेको उहाँले जानकारी दिनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप सामाजिक सुरक्षालाई संघ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वको रूपमा लिँदै आफ्नो स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्ने गरी कानुनी आधार तयार गरिएको उहाँले बताउनुभयो । ‘सबै स्थानीय तहलाई कार्यक्रम प्रभावकारी बनाउने कार्यमा सशक्त भूमिका खेल्नसमेत आग्रह गर्दछु’, प्रधानमन्त्रीले भन्नुभयो ।

कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको उहाँले बताउनुभयो । ‘सम्पूर्ण नेपाली नागरिकहरूको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रूपमा सामाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाउन चाहन्छु’, उहाँले भन्नुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक १ लाख रुपैँयासम्म पेन्सन लिन थाल्नुभएको उहाँले बताउनुभयो । ‘यो आफैमा महत्त्वपूर्ण आरम्भ हो, आगामी दिनमा यस अभियानले थप सफलता हासिल गर्दै अगाडि बढ्ने नै छौँ’, उहाँले भन्नुभयो

Comments are closed.