बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसद्वारा शपथ ग्रहण

काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले राष्ट्रपति निवास बंग भवनमा अन्तरिम सरकार प्रमुख युनुसको शपथ गराउनु भएको हो । युनुससँगै मन्त्रिपरिषद्का १६ सदस्यले पनि आजै शपथ लिनु भएको छ । १७ वर्षपछि बंगलादेशमा पुनः एकपटक अन्तरिम सरकार गठन भएको हो । युनुसको नेतृत्वको अन्तरिम सरकारको १६ सदस्यीय मन्त्रिपरिषद्‌मा नागरिक समाजका अगुवा, विभिन्न निकायका विज्ञ, दुई विद्यार्थी नेता समेत रहेका छन् ।
बंगलादेशमा विद्यार्थीहरुले आरक्षणविरुद्धको आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाड्नुभएको थियो । त्यसपछि सेना प्रमुख वकर-उज-जमानले अन्तरिम सरकार गठनको घोषणा गर्नुभएको थियो । लगत्तै विद्यार्थी संयोजक र तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलपछि राष्ट्रपति शाहाबुद्दीनले संसद् भंग गरेर युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुभएको थियो ।
शपथका लागि युनुस आजै फ्रान्सको पेरिसबाट ढाका पुग्नुभएको हो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै युनुसले अब बंगलादेशलाई कानुनी बाटोमा ल्याउने र देखिएका समस्या समाधान गर्ने आफ्नो प्रमुख जिम्मेवारी भएको बताउनुभयो । उहाँले अन्तरिम सरकारले केही समय सरकार चलाउने र आम निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने घोषणा पनि गर्नुभयो ।

Comments are closed.