ताप्लेजुङ विद्युत् उत्पादनको केन्द्र बन्दै, तमोरमा मात्रै १६ आयोजना निर्माणाधीन

फुङलिङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ। जिल्लाको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् ।

विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा छन्। ती आयोजनाबाट एक हजार  ६५४ मेगावाट बिजुली  उत्पादन हुनेछ।

मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलामा चार जलविद्युत् आयोजना निर्माणाधीन छन्। मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट १७८ दशमलव मेगावाट विद्युत् उत्पादन हुनेछ। काबेली खोलामा चारवटा आयोजना निर्माण भइरहेका छन्। ती आयोजनाबाट ९५.४३ मेगावाट  बिजुली उत्पादन हुनेछ।

यसैगरी, पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने विभागले जनाएको छ। सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ।

सिदिङवा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले ४.६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।

Comments are closed.