गाजामा बन्धक बनाइएका थप तीन जनाको शव भेटियो

तेल अभिभ । इजरायली सेनाको सुरक्षा बलले गाजामा थप तीन जना बन्धकको शव फेला पारेको छ ।

शव हनान याब्लोन्का, मिशेल निसेनबाम र ओरियन हर्नान्डेजको भएको बताइएको छ । इजरायली रक्षा बल (आईडीएफ)ले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

उत्तरी गाजाको जबलियामा गरिएको अपरेसनमा तीन जना बन्धकको शव फेला परेको आइडीएफले जनाएको छ । गत हप्ता पनि गाजामा तीन इजरायली बन्धकहरूको शव भेटिएको थियो ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा १२ सय मानिस मारिएका थिए । त्यसपछि हमास लडाकुहरूले गाजामा २५२ जनालाई बन्धक बनाएका थिए ।

यसको जवाफमा इजरायली सैन्य कारबाहीमा गाजा र वेस्ट बैंकमा हालसम्म ३५ हजारभन्दा बढी मानिस मारिएका छन् । इजरायलका अनुसार १३० जना अझै पनि हमासको नियन्त्रणमा छन् ।

Comments are closed.