सरकारले अबको बजेट जनताको प्रत्यक्ष निगरानीमा बनाउनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताए ।

नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भुमिकाको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने कुरा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले बैठकमा जोड दिएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।उनकाअनुसार प्रधानमन्त्री दाहालले बैठकमा विगतमा भन्दा बढि आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताएका थिए ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले कुटनीतिक क्षेत्रमा पनि सरकारले महत्वपूर्ण उपलब्धिहरु हात पारेको दाबी गर्नुभएको पनि प्रवक्ता सापकोटाले बताए ।
उनले भने– ‘अन्तराष्ट्रिय कूटनीतिमा पनि महत्वपूर्ण उपलब्धिहरु भएका छन् । त्यसमध्ये पनि आज अध्यक्षले धेरै राम्रोसित जोड दिएर ब्रिफिङ गरेको कुरा चाहीँ के छ भने खासगरी विकास भनेको त आर्थिक विकास नै हो । आर्थिक विकासमा अहिलेसम्म भएको कुरामा चाहीँ ड्राफटिक चेन्ज हुनेछ भन्नुभएको छ । त्यसमो तीन वटा कुरामा बढी जोड दिएर भन्नुभएको छ । अबको बजेट बनाउँदाखेरी पहिलो कुरा त सरकारमै छलफल गरिन्छ । अन्तिममा चाहीँ अहिलेको बजेट बनाउँदाखेरी जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ । त्यसो भएपछि जनताको के चाहना छ ? जनताले के चाहेका छन् ? भन्ने कुरा पनि हुन्छ । र अहिले बजेट निर्माणका लागि मन्त्रालयमा सिलिङ बन्दैछ । त्यो सिलिङ बनाउने क्रमसँगै अहिले चाँही सबैसँग छलफल गरिन्छ । र त्यो सिलिङ बनाउने कुरामा पनि आमुल परिवर्तन गरिन्छ भनेर उहाँले भन्नुभएको छ । उहाँको शब्दमै मैले भन्नु र्दा चाहीँ इतिहासमै अहिले यो पहिलो पटक आर्थिक विकासमा सर्वाधिक जोड दिइएको छ भनेर उहाँले भन्नुभएको छ ।’

त्यस अवसरमा प्रधानमन्त्री दाहालले बजेटको सिलिङ तय गर्दा पनि विगतको भन्दा उन्नत स्तरले गर्ने जानकारी पार्टीका नेताहरुलाई गराउनुभएको माओवादी केन्द्रले जनाएको छ ।

Comments are closed.