रूस-युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर्न आयोगको आग्रह

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले रूस–युक्रेनको युद्धमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।

आयोगले युद्धमा घाइते भएका नेपालीको उपचारका लागि प्रभावकारी पहल गर्न स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै उक्त आग्रह गरेको हो।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज (आइतवार) जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थिति अन्त्य गरी नागरिकको जीउधनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’

रूस–युक्रेनबीच भइरहेको युद्धका क्रममा विभिन्न गैरकानुनी बाटो प्रयोग गरी नेपाली त्यहाँका सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा केही नेपालीको मृत्यु भएको, केही घाइते भएका, अझै पनि सयौँको सङ्ख्यामा रुस र युक्रेन दुवैतर्फको सेनामा कार्यरत रहेको भनी विभिन्न स्रोतबाट जानकारी प्राप्त भएको आयोगले जनाएको छ।

नेपाली जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य भएको समेत आयोगको भनाइ छ।

 

Comments are closed.