सरकार गठनका लागि कांग्रेस-एमालेले राष्ट्रपतिसमक्ष आज दाबी पेस गर्ने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि संसद्मा पेस गर्ने विश्वासको मतको प्रस्ताव असफल भएलगत्तै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष आज दाबी पेस गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री दाहालले विश्वासको मत नपाउने निश्चित भइसकेकाले भोलि नै राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान हुने र सोलगत्तै दाबी पेस गर्ने कांग्रेस-एमालेको तयारी छ । दुई दलका दोस्रो तहका नेताहरुबीच दिनभरजसो भोलिको तयारी र मन्त्रालय बाँडफाँटबारे छलफल भएको छ ।नयाँ समीकरणलाई समर्थन गर्ने जसपा, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत सरकारमा सहभागी गराउने गरी मन्त्रालय बाँडफाँट गर्ने सहमति यी दुई दलबीच भएको नेताहरुले बताएका छन् । एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी ओलीलाई दिइसकेको छ भने कांग्रेस सभापति शेरबहादुरले पनि पार्टीका नेताहरुसँग छलफल गरिरहनु भएको छ ।
एमाले अध्यक्ष ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई उपप्रधानमन्त्री रहने सहमति नेताहरुबीच भएको जनाइएको छ ।
यसैबीच, नेपाली कांग्रेस र नेकपा एमालेले भोलि संसदमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिइसकेका छन् । राप्रपाले पनि संसदीय दलको बैठकबाटै विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जनाउनुभयो ।
प्रधानमन्त्रीको पक्षमा भने दाहालकै दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्रै देखिएका छन् । यी तीन दलसँग ६३ सांसद मात्र छन् ।

Comments are closed.