भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पुरा गर्न सकिन्छ:डा.राजन भट्टराई

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराईले छिमेकी मुलुक भारत र चीनसँग नेपालले आफ्नो सम्बन्ध राम्रो बनाउनु पर्ने बताउनुभएको छ ।
पार्टीको परराष्ट्र मामिला विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले दुई देशसँगको राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पुरा गर्न सकिने बताउनुभयो ।

‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयक राउण्ड टेबल छलफलमा बोल्दै भट्टराईले भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न निरन्तर वार्ता र छलफलमा रहनुपर्ने बताउनुभयो । वार्ता र छलफलबाट नै दुई देशबिचको समस्या समाधान हुने र सम्बन्धमा सुधार आउने उहाँको धारणा छ ।
भट्टराईले देशमा व्यवस्था परिवर्तन भएकोले अबको ध्यान आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्ने बताउनुभयो । मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न र कसैको प्रभाव र दबाबमा नपर्न नेपाल यता वा उता लाग्नु नहुने भट्टराईले स्पष्ट पार्नुभयो । नेपा स्वतन्त्र विदेश नीति लिएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

भारतसँग भएको सन् १९५० को सन्धि असमान र असान्दर्भिक रहेकोले सो विषयमा छलफल गर्नुपर्ने उहाँको राय छ । नेपालले भारत समक्ष आफ्नो प्रष्ट धारणा राख्नु पर्ने भट्टराईले बताउनुभयो ।

चीनसँग भएको बीआरई कार्यान्वयन गरी त्यसबाट नेपालले अधिकतम लाभ लिनुपर्ने भट्टराईको धारणा छ । कसैको प्रभाव र दबाबमा नपरी नेपाल र नेपालीको हितमा हेर्ने एमालेको परराष्ट्र नीति रहेको उहाँले प्रष्ट पार्नुभयो ।

Comments are closed.