एनआरएनए निर्वाचन विवाद छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को निर्वाचन विवादको छानबिन गर्न सरकारले समिति गठन गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले गैरआवासीय नेपाली संघको निर्वाचन विवादका बारेमा छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन् ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देश गरिएको छ ।त्यस्तै, बैठकले धितोपत्र बजार सञ्चालन गर्ने संगठीत संस्थासम्बन्धी अध्ययन गर्न राष्ट्र बैंकका पूर्वडेपुटी गर्भनर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्य अध्ययन समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्ले २०८० पुस मसान्तसम्म संकलन भएको राजस्व अनुपातका आधारमा तेश्रो किस्ता र २०८० चैत्र मसान्तसम्म संकलन हुने राजस्व अनुपातको आधारमा अन्तिम किस्ता वित्तीय समानीकरण अनुदान प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
उक्त बैठकले ऊर्जा मन्त्रालय तथा अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ भने नेपाल र कतार सरकारबीच प्रस्तावित कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

Comments are closed.