गृह मन्त्रालयले गाँजाको लिगलाइजेसनका लागि एक महिनाभित्र कानुनी प्रबन्ध गर्छ : रवि लामिछाने

काठमाडौं । अनुसन्धानका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिनाभित्र आवश्यक कानुनी प्रबन्ध गर्ने बताउनुभएको छ ।आफ्नो मन्त्रालयले सय दिनमा गरेको कामबारे जानकारी दिन सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाइजेशनका लागि नीति बनाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले त्यसका लागि एक महिनाभित्र त्यसको एउटा राम्रो कानुनी प्रावधान निर्माण गर्ने बताउनुभयो ।
त्यसैगरी उहाँले कानुनी प्रबन्ध हुनसाथ निश्चित क्षेत्रमा त्यसको अनुसन्धानको काम पनि सुरु गर्ने बताउनुभयो । ‘औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाइजेसनका लागि हामीले बनाउनुपर्ने नीति बनाउनुपर्ने हुन्छ । त्यसका लागि एक महिनाको समय भनेर हामी भनिसकेका छौं । गृह मन्त्रालयले एक महिनाभित्र त्यसको एउटा राम्रो कानुनी प्रावधान निर्माण गर्नेछ,’ उहाँले भन्नुभयो, ‘निर्देशिका तयार गर्नेछ । त्यो निर्देशिकाले अब अनुसन्धान गर्न गाँजाको औषधिजन्य प्रयोगका लागि अनुसन्धान गर्न निश्चित क्षेत्रमा चाहे त्यो ल्याब खडा गर्न, चाहे अरु प्रयोजनका लागि होस् । निश्चित एरियाभित्र सुरुवात गर्नेछ । त्यो एक महिनाभित्र हामी सम्पन्न गर्नेछौं ।’लामिछानेले विपद् व्यवस्थापनका लागि पनि देशभर आवश्यकअनुसार कमान सेन्टर स्थापना गरी काम सुरु गरिएको पनि बताउनुभयो ।

Comments are closed.