काठमाडौँ । नेपालमा पछिल्लो समय खाना पकाउने ग्यासको आयातमा कमी आइरहेको छ । विद्युत्को माग बढेकोले बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको हो ।
विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको छ । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन)को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । बिजुली र अन्य स्रोतभन्दा सस्तो पर्ने हुँदा ग्यासको खपत बढी हुने गरेको छ ।
नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ । आव २०७८/७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा आठ अर्ब रुपियाँ बराबरको ग्यास आयात कम भएको छ ।
निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउनका लागि बिजुलीको प्रयोग बढ्दै गएपछि ग्यासको आयातमा कमी आएको जानकारी दिए । आर्थिक गतिविधि कम हुँदा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको उनको भनाइ छ ।
नेपाल आयल निगमको विवरण अनुसार गत साउनयताको आँकडा हेर्दा अघिल्लो वर्षको सोही अवधिको तुलनामा अधिकांश महिनामा आयात कम भएको देखिन्छ । यद्यपि साउन र माघ महिनामा केही बढी देखिए पनि अन्य महिनामा आयात घटेको छ ।
माघमा भने जाडोको समय भएकाले सहरी क्षेत्रमा ग्यास गिजरलगायतका उपकरण चलाउन खपत केही बढ्दा माग बढी भइ आयात वृद्धि भएको निगमका अधिकारीहरू बताउँछन् । सोही अवधिमा नेपालमा विद्युत्को माग पनि क्रमशः बढ्दो क्रममा रहेको देखिएको छ ।
प्राधिकरणको प्रणाली सञ्चालन विभागले दिएको विवरणअनुसार गएको साउन र भदौको तुलनामा विद्युत् मागमा केही कमी आएको देखिए पनि कात्तिकयता क्रमशः माग बढिरहेको देखिन्छ । अधिकारीहरूका भनाइमा असार, साउन र भदौ जस्ता महिनाहरूमा विशेषगरी तराईमा सिँचाइका लागि भूमिगत पानी तान्न पनि बिजुलीको प्रयोग धेरै हुनेहुँदा खपत बढ्ने गर्छ । तर पछिल्लो प्रवृत्ति हेर्दा मानिसहरूले बिस्तारै खाना पकाउन विद्युत् खपत गर्न थालेको हो ।
Comments are closed.