आजको विश्वमा शान्तिको महत्व अझ बढ्न गएको छ:प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभएको छ ।

मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना नहुने बताउनुभयाे । आजको विश्वमा शान्तिको महत्व अझ बढ्न गएको उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री प्रचण्डले लुम्बिनी जस्तो पावन भूमिबाट विश्व समुदायलाई विशेष रुपले शान्तिका निम्ति अपील पनि गर्नुभयो । रामग्रामको विकासका लागि भएका कार्यक्रम मार्फत हुने प्रतिबद्धताले उक्त क्षेत्रको महत्व झन् बढेर गएको उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिवकाे नेपाल भ्रमणबारे पनि चर्चा गर्नुभयाे । उहाँले राष्ट्र संघका महासचिवकाे आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत भएको बताउनुभयाे ।

देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरो लगायत प्राकृतिक प्रकोपबारे विश्वको ध्यान खिच्न आफू सफल भएकाे प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयाे । कोप-२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिबद्धता व्यक्त भएको पनि उहाँले बताउनुभयाे ।

Comments are closed.